काठमाडौँ, १७ चैत ।सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्दै छ ।
गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
३० वैशाखमा स्थानीय तहको निर्वाचन तय भएको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।