काठमाण्डौ, २२ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा सत्ता गठबन्धनमा कसले कति पालिका लिने भन्नेबारेमा सहमति जुट्नमा ढिलाइ भएको छ । विशेष गरी ६ महानगरपालिकामा कसरी तालमेल गर्ने भन्नेमा कुरा टुङ्ग्याउन बाँकी छ ।
सत्ता गठबन्धन भित्र यसबारेमा औपचारिक सहमति भएको छैन । तर पालिका, नगर, प्रदेशस्तरमा अध्ययन गरेर आजसम्ममा केन्द्रीय नेतृत्वलाई जानकारी गारउने गरी यसअघि संयन्त्र बनाइएको थियो । निर्वाचनमा तालमेल गर्ने बारेमा भने यसअघि नै सत्ता गठबन्धनमा निर्णय भइसकेको छ ।
नेपाली काँग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले चितवनका ७ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकामा भने काँग्रेस र माओवादी केन्द्रले दावी गर्दै आएका छन् । नेकपा एमालेले भने राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने बारेमा छलफल चलाइरहे पनि कुनै सहमति भइसकेको छैन ।