खड्क सुनार, मुगु, २३ चैत । मुगुमा रहेको अन्तरदेशीय नाका नाक्चे लाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आइरहेको छ । तिम्बतसँग सीमा जोडिएको नाक्चे लाग्नामा भन्सार छ, कर्मचारी छैनन् । जसका कारण भन्सार कार्यालयको काम प्रभावकारी हुन सकेको छैन । भन्सारमा कार्यालय सहयोगि मात्रै छन्, त्यहि पनि नियमित भेटिदैनन् ।
दैनिक तिब्बतबाट कति सामान र मानिस भित्रन्छन् तथा नेपालबाट कति सामान पठाइन्छ भन्ने तथ्याङ्क भन्सारसँग छैन । कर्मचारी अभावका कारण अबैध रूपमा हुने व्यापारको रोकथाम हुन सकेको छैन, जसका कराण लाखौंको राजस्व पनि गुमिरहेको छ ।
विशेषगरि नेपालबाट हिमाली जडिबुटी यो नाका हुँदै तिब्बत पठाइने गरिएको छ । तर, यसको लेखाजोखा भने हुने गरेको छैन । कर्मचारी अभाबले कार्यालयका कुनै पनि काम गर्न नसकिएको कार्यालय सहयोगी सुरेन्द्र रावल बताउनुहुन्छ ।
भन्सार कार्यालय कहिले खुल्ने, कहिले बन्द हुने तथा खुलेको समयमा पनि व्यवस्थित तवरले काम नहुँदा राजस्व चुहावट भएको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लको भनाइ छ ।
भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा करिब २ लाखको राजस्व सङ्कलन भएको थियो । तर, यो वर्ष राजस्व सङ्कलन शून्य छ । प्रशासनले भने व्यापारिक र आर्थिक कारोबार कम हुने भएकाले कर्मचारी पदपूर्तीमा समस्या देखिएको बताउने गरेको छ ।
नाक्चे लाग्ना भन्सार कार्यालय व्यक्तिगत घरमा राखिएको छ तर कार्यालयमा कर्मचारी नहुँदा काम भने भएको छैन ।