विकास गुरुङ । तेह्रथुम, २१ मंसिर । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटेकडाँडामा भौतिक पूर्वाधार निर्माण भएसँगै पर्यटकिय गतिविधी बढेको छ। केहिवर्ष अघिसम्म पर्यटकको नजरमा खासै नपर्ने यो क्षेत्रमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन्। कोशी राजमार्गस्थित धनकुटाको सिधुवा बजारनजिकै रहेको पटेकडाडाँमा पुग्न पर्यटकहरुलाई अहिले सहज भएको छ। १० मिनेटको गाडी र झन्डै आधा घन्टाको पैदलयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ।
कोरोना कहरको समयमा घुम्न नपाएर दिक्क मानेकाहरु पटेकडाँडा पुगेपछि मनोरम दृश्यले दङ्ग पर्ने गरेको स्थानीय प्रकाश तामाङ बताउँनुहुन्छ। समुद्री सतहदेखि २७ सय मिटरमा रहेको पटेकडाँडा खासगरी झुल्केनी घाम र अस्ताउँदै गरेको सूर्यलाई हेर्न पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ। पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकोले यस स्थानमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीय होमबहादुर बिष्टको भनाइ छ।
डाँडामा पुग्नका लागि सिंडी तथा रेलिङ बनाइएको छ। संघीय सरकार र प्रदेश सरकारको एक करोड ३४ लाख रुपैयाँको लगानीमा भौतिक पूर्वधारका कामहरु भएकाले यहाँ पुग्ने जो–कोहीलाई अहिले सहज भएको छ। स्थानीय सरकारले यस पर्यटकीय स्थानको संंरक्षण गर्न ध्यान दिनुपर्ने हलहले पटेकडाँडा निर्माण समितिका अध्यक्ष गोमा कार्की बताउनुहन्छ।
तेह्रथुम र धनकुटा जिल्लाको संंगमस्थल राजमार्गनजिकै रहेकाले पनि आउजाउ गर्नेहरु डाँडासम्म पुग्ने गरेका छन्। पुर्वाधारको विकाससँगै प्रचार प्रसार हुनसके पर्यटकीय सम्भावना बोकेका क्षेत्र समृद्धिको आधार बन्नेछन्।