Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तोक्वान्दोमा प्रभाव जमाउँदै मुग्लिनकी सुप्रिका गुरूङ

तोक्वान्दोमा प्रभाव जमाउँदै मुग्लिनकी सुप्रिका गुरूङ

चित्र बहादुर गुरुङ

१, बैशाख २०७९
तोक्वान्दोमा प्रभाव जमाउँदै मुग्लिनकी सुप्रिका गुरूङ
images

मुग्लिन, १ वैशाख । पृथ्वी राजमार्गमा पर्ने प्रमुखबजार हो, मुग्लिन। त्यसो त मुग्लिन बजार नामै काफी छ। विशेषतः राजमार्गमा यात्रा गर्ने यात्रुका लागि खाना खाने मुख्यस्थलको रूपमा धेरै पहिले देखि नै परिचित नाम हो, मुग्लिन बजार। 

images
images

पछिल्लो समय मुग्लिन बजारको पहिचान यात्रुहरूले खाना खाने स्थलको रूपमा मात्र नभई फरक किसिमले खेलकुदको क्षेत्रबाट पनि चिनिन थालेको छ। त्यस मध्यको एक हो, तोक्वान्दो। यही खेलमा आफ्नो प्रभाव बढाउँदै मुग्लिनको फरक पहिचान स्थापित गर्न लागी परेकी छिन्, तोक्वान्दो खेलाडी सुप्रिका गुरूङ।

मुग्लिन बजारमै वि.सं.२०६३ साल असार १४ गते बुबा किशोर गुरूङ र आमा सुशीला गुरूङको कोखबाट जन्मिएकी सुप्रिका खेलकुदको क्षेत्रबाटै अन्तर्राष्ट्रिय प्रतियोगिताको दौडमा लम्किरहेकी छन्। इच्छाकामना गाउँपालिकाको वडा नं. ५ मा पर्ने मुग्लिन बजारबाटै उनको खेलकुद यात्रा तय भयो। स्थानीय क्षेत्रबाटै सुरू गरेको उनको खेल यात्राले जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभाव जमाउँदै लगेकी छन्।

277893878_3215614735335341_2042054000586280197_n.jpg

‘हुने विरूवाको चिल्लो पात’ भनेझैँ उमेरले भर्खरै १६ वर्षमा पाइला टेक्दै गरेकी सुप्रिका सानैदेखि तोक्वान्दो खेल खेल्दै हुर्किइन्, जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुने मौका पाइन् । र, आफूलाई गोल्ड मेडल ल्याउने हकदार बनाउन समेत सफल भइन्। 

तोक्वान्दो खेल्न थालेको करिब चार वसन्त पार गर्दै गर्दा छोटो समयमा नै दर्जनौँ पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाइन्। जति प्रतियोगितामा सहभागी भइन्, एकाध बाहेक सबै प्रतियोगितामा जित हासिल गरेर कुनै न कुनै पदक ल्याएकी छिन्।

सन् २०१८ डिसेम्बर २९ तारिखका दिन भारतको कोलकत्तामा आयोजना भएको ‘थर्ड इन्डिया टिआइए ओपन इन्टरनेशनल तोक्वान्दो च्याम्पियनशिप’मा समेत पहिलो पटक भएको सहभागीताबाटै द्वितीय स्थान हासिल गर्न सफल भइन्। त्यसपछि सहभागी भएका हरेक प्रतियोगितामा उनले कुनै न कुनै पदक हात पार्दै आएकी छन्। 

सन् २६ र २७ जनवरी २०१९ मा ‘इन्टरनेशनल म्याट्रिटियल आर्टस् एण्ड तोक्वान्दो च्याम्पियनशिप’ मा पुम्सेमा सिल्भर र खेरोगीमा ब्रन्जा पदक पाएकी थिइन् भने सन् २०१९ को नोभेम्बर २ देखि ४ तारिखसम्म भारतमा भएको ‘तरूण तल ताल्कात्रो इन्डोर स्टेडियम न्यु दिल्ली’ प्रतियोगितामा गोल्ड मेडल जितेकी थिइन्।

278148037_3057891851141454_4399980421555831768_n.jpg

यस्तै नोभेम्बर ९ देखि १० तारिखमा दिल्लीमा आयोजित ‘फस्र्ट सिताई इन्डियन ओपन इन्टरनेशनल तोक्वान्दो च्याम्पियनशिप’ मा ६१ केजी समूहमा सहभागी भई गोल्ड मेडल जितिन् भने सन् २०१९ कै नोभेम्बर २९ र ३० तारिखका दिन सहभागी भई नेपाल ताइक्वान्दो एसोसिएसनबाट ब्ल्याक बेल्ड पाउन सफल भइन्।

यसरी तोक्वान्दो प्रतियोगितामा एकपछि अर्को सफलता हासिल गर्दै गएकी सुप्रिकाले सन् २०१९ को डिसेम्बर २७ देखि २९ तारिखसम्म वेस्ट बंगालको आसामसोलमा सम्पन्न ‘फस्र्ट ओपन इन्टरनेशनल तोक्वान्दो च्याम्पियनशिप’मा ६३ केजी समूह अन्तर्गत पुम्से र खेरोगीमा सहभागी भई गोल्ड मेडल ल्याएकी थिइन्।

सोही बेला ‘इन्डो नेपालओपन इन्टरनेशनल तोक्वान्दो च्याम्पियनशिप’मा समेत ६३ केजी तौल समूह अन्तर्गत खेरोगी र पुम्सेमा सहभागी भई गोल्ड मेडल ल्याउन सफल भइन्। हरेक प्रतियोगितामा सहभागी भई पदक ल्याइरहेको बेला कोरोना कहरले विश्व नै ठप्प भइदिँदा त्यसको प्रत्यक्ष असर सुप्रिकाको खेल यात्रामा पनि प¥यो। 

यस बीचमा उनले २०७७ सालको चैत १३ र १४ गते सुर्खेतमा सम्पन्न ‘थर्ड नेशनल वुमेन ओपन तोक्वान्दो’ प्रतियोगितामा सहभागी हुने अवसर पाइन्। कोरोना कहरका कारण लामो समयसम्म तेक्वान्दोबाट टाढा रहनुपरेकाले उक्त प्रतियोगितामा चाहे जस्तो सफलता हासिल गर्न भने सकिनन्। तैपनि तेस्रो स्थानमा रहन सफल भइन्। 

278572521_658645365209813_1148882716903259667_n.jpg

त्यसपछि सन् २०२१ को नोभेम्बर २७ र २८ तारिखका दिन ‘इन्डो नेपाल ओपन इन्टरनेशनल तोक्वान्दो च्याम्पियनशिप’ मा सहभागी भई त्यसमा पनि गोल्ड मेडल ल्याउन सफल भइन्। 

योसँगसँगै उनले केही महिनाअघि मात्र तोक्वान्दो प्रतियोगिताको लागि गाउँपालिका, जिल्ला तहमा प्रथम स्थानमा छनोट हुँदै २०७८ फागुन २३ र २४ गते सम्पन्न बागमती प्रदेश तोक्वान्दो छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गरी खेलको लागि छनोटमा परिन्। त्यसपछि २०७८ चैत १८ र १९ गते भएको राष्ट्रिय तोक्वान्दो प्रतियोगितामा बागमती प्रदेशबाट सहभागी भई दोस्रो स्थान हासिल गर्न सफल भइन्।

यसरी तोक्वान्दो खेलमा प्रभाव जमाउँदै गएकी सुप्रिकाले छोटो समयमै स्थानीय बाहेक राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका झण्डै २ दर्जन प्रतियोगितामा सहभागी हुने मौका पाइन् र पदक जित्न समेत सफल भइन्। 

इच्छाकामना तोक्वान्दो डोजाङ्गका खेलाडी समेत रहेकी सुप्रिकालाई खेलको लागि भने मेलिना गुरूङले प्रशिक्षण दिइँदै आएकी छन्। त्यसो त सुप्रिकाकी बुबा किशोर पनि कुनैबेलाका तोक्वान्दोको उत्कृष्ट खेलाडी हुन्। हाल तोक्वान्दो संघको जिल्ला सल्लाहकार हुन्। बुबाकै प्रेरणाले पनि सुप्रिकालाई खेलाडी बन्नमा राम्रो सहयोग पुगेको छ। 

277891846_1375966462849825_314727875250670494_n.jpg

‘मैले मेरा छोरा र छोरी दुवैलाई तोक्वान्दो खेल्न प्रेरित गर्ने गरेको छु,’ बुबा किशोरले भने, ‘कहिलेकाहीँ घरमा आपैmँले पनि सिकाउने गरेको छु।’ 

हाल मुग्लिनमा रहेको मस्र्याङ्गदी शिक्षा सदन इंग्लिस बोर्डिङ्ग स्कुलमा कक्षा ९ मा अध्ययनरत सुप्रिका तोक्वान्दोको अलवा स्टोन आर्ट र हेण्डिक्राफ्ट कलामा पनि रूचि देखाउँछिन्। उनी भन्छिन्, ‘मलाई खोलामा पाइने ढुङ्गामा आर्ट गर्न असाध्यै मनपर्छ, खेल र पढाइबाट फुर्सद हुना साथ म त्रिशुली नदीकिनारमा गई ढुङ्गा बटुलेर त्यसैमा कला भर्ने प्रयास गर्छु।’

278185617_682088359513581_75872921752422846_n.jpg

तोक्वान्दो खेलमै आफ्नो जीवन व्यतित गर्ने सोच लिएकी सुप्रिका यही जेठमा सेकेण्ड डान लिने तयारीमा छिन्। त्यसपछि आफूलाई तोक्वान्दोमा थप निखारता ल्याउँदै साफ, ओलम्पिक लगायतका खेलमा सहभागी भई देशको लागि पदक ल्याउने सपना देखेकी छन्। उनको खेल जीवनले सफलता पाओस्, हाम्रो पनि शुभकामना। 

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - २२:२३:३९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology