कुरिनटार, २६ वैशाख । भौगोलिक रुपमा कठिन पहाडी भू–भागहरु रहेको एक मात्र गाउँपालिका हो चितवनको इच्छाकामना । साविकको ४ वडा पहाडी गाविसहरुलाई गाभेर इच्छाकामना गाउँपालिका बनाईएको हो।
सिमान्तकृत चेपाङ तथा गुरुङ लगायत जनजाती समुदायको बाहुल्य रहेको यो क्षेत्र भौगोलिक कठिनाईकै कारण विकासका सबै सूचांकमा पछाडि परेको भू–भागको रुपमा चिनिन्छ। यहि कठिनाईका बाबजुत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा यो
गाउँपालिकाको विकाश र समृद्धिको नेतृत्व सम्हाल्न अध्यक्षमा निर्वाचित भएर आईपुगिन् गीता कुमारी गुरुङ ।

महिलाले के गर्छिन् र भन्ने सामाजिक मूल्य मान्यता जस्ता कठोर चुनौतीहरुसँग निरन्तर लड्दै भिड्दै अगाडी बढिरहेकी गीतालाई इच्छाकामना गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुन पनि साह्रै कठिन भएको थियो । जिन्दगी भोगाई कयौ कठिन परिस्थितिको सामना गर्दै अगाडी बढेकी उनले सबै कुरालाई आत्मसाथ गर्दै इच्छाकामना गाउँपालिकाको नेतृत्व सम्हाले ।

इच्छाकामना गाउँपालिकाको भौगोलिक कठिनाई, यहाँको नागरिकको दुःख जीवनशैली नजिकबाट भोगे बुझेकी उनले उनै नागरिकको दुःखसँग नजिक रहदै भौगोलिक कठिनाईहरुसँग जुद्धै गाउँको समृद्धि र विकाशको लागि जुटिन्। यो ५ वर्षको अवधिमा उनले इच्छाकामनाका हरेक नागरिकको घरदैलो चाहारेका छन्। विकटका नागरिकका दुःखहरु बुझेका छन् र त उनले तिनै विकटका नागरिकहरुको लागि ५ वर्षमा उल्लेखनिय कामहरु गरे ।

आफ्नो ५ वर्षे कार्यकालमा उनले सबैभन्दा पहिले यहाँको नागरिकको घण्टौ पैदल हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न इच्छाकामना गाउँपालिकाको हरेक गाउँहरुलाई सडक सञ्जालले जोडिदिए । अहिले इच्छाकामनाका सबैजसो गाउँहरुमा कच्ची नै भए पनि सडक पुगेको छ । निकै कठिन भौगोलिकतालाई चिर्दै ५ वर्षे कार्यकालमा वडा नं. १ भाराङ हुदै हात्तिवाङ सडकमार्ग जोडिदिएको छ भने भोर्ले हुदै दाहाखानी पुगेको सडकलाई उपप्रदाङ्गगढिसम्म जोडिदिएको छ।
यस्तै जलविरे हुदै चनौटेसम्म पुगेको कृषि सडक यतिबेला ढुङ्ग्रे, तुन्तेस पुगेको छ भने सोही सडकलाई तल्लो ढुङ्ग्रे हुदै उपप्रदाङ्गगढि सम्म पु¥याउन लागिएको छ । केहि स्थानमा कालोपत्रेको काम समेत सुरु गरिएको छ ।

सधै खानेपानीले हाहाकार हुने तुन्तेस, ढुङ्ग्रे, मैतेस, भाराङ, जस्ता पहाडी गाउँहरुमा ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत हरेक घरमा खानेपानी पु¥याईएको छ । इच्छाकामना मन्दिरको पुनःनिर्माण सँगै लिफ्टिङ प्रविधिको प्रयोग गरी पानी झारिएको छ ।
यसैगरी नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्यक वडामा कम्तीमा पनि २ वटा स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टरहरु संचालन गरिएको छ । यहि बिचमा केन्द्र सरकारले सबै पालिकामा आधारभुत अस्पताल निर्माण गर्ने भन्नुभन्दा पहिले नै गाउँपालिकाको आफ्नै लगानीमा कुरिनटारमा इच्छाकामना अस्पतालको निर्माण सुरु गरिएको छ। यद्यपी अस्पताल निर्माण सम्पन्न हुन भने बाँकी नै छ ।

सबै नागरिकलाई नजिकको स्वास्थ्य संस्थासम्म पुग्नको लागि एम्बुलेन्सको व्यवस्था गरिएको छ भने वडा नं. १ र २ को नागरिकलाई मात्र लक्षित गर्दै गाउँमै अर्को एम्बुलेन्सको व्यवस्था गर्ने तयारी गरिएको छ ।

भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय भवन निर्माण गरिएको छ भने सबै वडाको वडा कार्यालय भवन निर्माणको काम सुरु भएको छ । कतिपय वडाको भने निर्माणको काम अन्तिम चरणमा छ ।

उनले अविवाहित रहेका ६० वर्ष कटेका एकल महिला र पुरुषका साथै विदुर पुरुषहरुलाई समेत मासिक रुपमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिदिएको छ भने गाउँपालिका भित्र जन्मिने बालिकाको लागी १० हजार रुपैयाँ नगद सहितको बालिका बचत खाता कार्यक्रम समेत ४ वर्षदेखि संचालनमा ल्याईएको छ ।

दुई वर्ष अघि कोरोना कहरका कारण देशव्यापी भएको लकडाउनमा केन्द्र सरकारको कारवाहीको प्रवाहमा नपरी राजमार्गमा विचल्ली परेका नागरिकहरुलाई आफै खटिएर उद्दार गरि गन्तव्यमा पठाउने तथा अन्यत्र विचल्लीमा परेका आफ्ना नागरिकका लागि गाडीको व्यवस्था गरी सुरक्षित रुपमा घर ल्याएको थियो । जुनकामको सर्वत्र चर्चा भएको थियो । उनको सोही कदमका कारण केन्द्र सरकारलाई लकडाउनका कारण विचल्लीमा परेका नागरिकलाई सुरक्षित घर फर्काउन दवाव परेको थियो ।

उनले लकडाउनको बेला अप्ठ्यारोमा परेका विपन्न नागरिकहरुका लागि घरदैलोमा नै राहतको व्यवस्था गरिदिएका थिए ।

यसरी विकटका नागरिकको दुःखसँग सधै निकट हुने उनै गीता कुमारी गुरुङ आसन्न स्थानीय तह निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेद्वारी दर्ता गर्दै जनताको घरदैलोमा पुगेकी छिन् । विकटका जनताको दुःखसँग सधै निकट रहेकीले पनि जनताले आफुलाई पुनः अध्यक्षमा निर्वाचित गर्नेमा आफु ढुक्क रहेको उनी बताउछिन् ।

यस्तै इच्छाकामना न्युजसँग कुराकानी गर्दै पाँच वर्षे कार्यकालमा आफुले सुरु गरेका धेरै राम्रा कामहरु २ वर्षको कोभिड प्रभावकै कारण अधुरै रहेकाले त्यो पूरा गर्नकै लागि पुनः अध्यक्षमा उम्मेद्वारी दिएको उनले बताए। ‘जनताले मलाई पुनः निर्वाचित गराएमा मैले पहिलो कार्यकालमा सुरु गरेका सबै कामहरु पुरा गर्नेछु’ उनले भने।
