अविनाश आचार्य, काठमाडौँ, २९ वैशाख । स्थानीय तहको निर्वाचनमा भोट हाल्न आफ्नै निर्वाचन क्षेत्र फर्कनेहरूका कारण गाउँघरमा चहल पहल बढेको छ भने काठमाडौं सुनसान बन्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार केहि दिनयता प्रतिदिन झण्डै ६० हजार जनाले काठमाडौँ छाडिरहेका छन् ।
काठमाडौंका मुख्य नाकाहरूबाट भोट हाल्न घर फर्किरहेकाहरू मध्य कतिपयलाई रोजगारीको आस छ, कतिपयलाई भने विकास निर्माणको । धेरै मतदाता आफ्नै गाउँमा बस्ने वातावरण खोजिरहेका छन् । यातायातको सहजता अनि, शिक्षा, स्वास्थ्य र रोजगारीको सहज उपलब्धता अधिकांशको अपेक्षा छ ।
कतिपय आफ्नै सवारी साधनमा घर फर्किरहेका छन् भने कतिपयलाइ उम्मेद्वारले नै व्यवस्था गरिदिएका छन् । भोट हाल्न घर फर्कनेहरूका कारण काठमाडौँका मुख्य नाका र बसपार्कहरु भरिभराउ छन् । घरदैलोकै सरकार चलाउने नयाँ जनप्रतिनिधि चुन्नको लागि नागरिक उत्साहित छन्, तर जनप्रतिनिधिमा छानिएपछि हरेक सङ्कटमा साथ दिनुपर्ने उनीहरूको अपेक्षा छ ।