चितवन, ११ जेठ । यहि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा चितवन जिल्लामा २७ जना गुरुङहरु जनप्रतिनिधिको रुपमा निर्वाचित हुन सफल भएको छ । १ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिका गरि ७ वटा स्थानीय तह भएको चितवन जिल्लामा पालिका अध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरुमा गरी २७ जना गुरुङहरु जनप्रतिनिधिमा निर्वाचित हुन सफल भएको छ ।
सबैभन्दा बढि जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा १४ जना गुरुङहरु जनप्रतिनिधिको रुपमा निर्वाचित हुन सफल भएको देखिन्छ । जहाँ अध्यक्षमा २ जना, उपाध्यक्षमा १ जना, वडाध्यक्षमा २ जना, खुल्ला सदस्यमा १३ जना र महिला सदस्यमा ७ जना गरी २५ जना प्रतिस्प्रर्धामा रहेको थियो। यस अघि गाउँपालिका अध्यक्षमा गुरुङ निर्वाचित भएकोमा यसपटक पनि गुरुङ नै निर्वाचित भएको छ ।
यसपाली गठबन्धन अन्तर्गत नेपाली काँग्रेसबाट पूनः गीताकुमारी गुरुङ र नेकपा एमालेबाट दान बहादुर गुरुङ गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धी भएकोमा एमालेबाट उम्मेद्वार रहेका दान बहादुर गुरुङ निर्वाचित भएको छ।
खुल्ला सदस्यमा नेकपा एमालेबाट एक बहादुर गुरुङ, बुद्धिमान गुरुङ, तारा बहादुर गुरुङ, जंग बहादुर गुरुङ र नेपाली काँग्रेसबाट टेक बहादुर गुरुङ गरी ५ जनाका साथै महिला सदस्यमा नेकपा एमालेबाट मनकुमारी गुरुङ, टेकमाया गुरुङ, पार्वती गुरुङ, नेपाली काँग्रेसबाट फुलमती गुरुङ र सरिता गुरुङ गरी ५ जना निर्वाचित भएका छन्।
यस्तै भरतपुर महानगरपालिकाको प्रमुखमा २ जना, उपप्रमुखमा १ जना, वडाध्यक्षमा १४ जना, खुल्ला सदस्यमा १७ जना र महिला सदस्यमा ११ जना गरी ४५ जना प्रतिस्पर्धामा रहेकोमा ११ जना निर्वाचित भएका छन्।
जसमा वडाध्यक्षमा नेपाली काँग्रेसबाट मुक्तिप्रसाद घले (२०), कृष्णकुमार गुरुङ (२१) र सुर्य बहादुर गुरुङ (२९) गरी ३ जना निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा नेकपा एमालेबाट राजु गुरुङ (१), मिन बहादुर गुरुङ (७), राजकुमार गुरुङ (१९), नेपाली काँग्रेसबाट पूर्ण बहादुर गुरुङ (९), टंकप्रसाद घले (१७), सेतु गुरुङ (२९) र माओवादी केन्द्रबाट सुर्य बहादुर गुरुङ (२२) गरी ७ जना निर्वाचित भएका छन्। साथै नेकपा एकिकृत समाजवादी पार्टीबाट समेत महिला वडा सदस्यमा पूजना गुरुङ (२९) निर्वाचित भएका छन्।
रत्ननगर नगरपालिकामा उपप्रमुखमा १ जना, वडाध्यक्षमा ३ जना, खुल्ला सदस्यमा ४ जना र महिला सदस्यमा ५ जना गरी १३ जना प्रतिस्पर्धामा रहेकोमा वडा नं. १६ को महिला वडा सदस्यमा नेकपा एमालेबाट उम्मेद्वार रहेकी सरिता गुरुङ १ जना मात्र निर्वाचित भएकी छिन्।
यसैगरी खैरहनी नगरपालिकामा पनि १ जना गुरुङ वडाध्यक्षमा निर्वाचित हुन सफल भएको छ । उक्त नगरपालिकामा ३ जना वडाध्यक्षमा, ४ जना खुल्ला सदस्यमा र १ जना महिला सदस्यमा गरी ८ जना गुरुङहरु प्रतिस्पर्धामा रहेकोमा वडा नं. ३ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेद्वार रहेका पूर्ण बहादुर गुरुङ १ जना मात्र निर्वाचित हुन सफल भएको छ ।
कालिका नगरपालिकामा भने वडाध्यक्षमा २ जना, खुल्ला सदस्यमा ३ जना र महिला सदस्यमा २ जना गरी ७ जना प्रतिस्पर्धामा रहेकोमा ३ जना गुरुङहरु निर्वाचित भएका छन्। जसमा खुल्ला सदस्यमा नेकपा एमालेबाट बेलीकुमारी गुरुङ (२) र नेपाली काँग्रेसबाट लाल बहादुर गुरुङ (९) गरी २ जनाका साथै महिला सदस्यमा नेकपा एमालेबाट फुलमाया गुरुङ (८) निर्वाचित भएको छ।
यद्यपी चितवनको राप्ती र माडी नगरपालिकामा एक जना गुरुङहरु पनि जनप्रतिनिधिमा निर्वाचित हुन सफल हुन सकेनन्। राप्ती नगरपालिका प्रमुखमा १ जना, वडाध्यक्षमा १ जना, खुल्ला सदस्यमा १ जना र महिला सदस्यमा २ जना गरी ५ जना प्रतिस्पर्धामा थिए भने माडी नगरपालिका वडाध्यक्षमा २ जना, खुल्ला सदस्यमा २ जना र महिला सदस्यमा २ जना गरी ६ जना चुनावी प्रतिस्पर्धामा थिए।