काठमाण्डौ, २८ मंसिर । दिवंगत आफन्तको स्मृतिमा शतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइएको छ। पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकोमा यसवर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिनुभयो। हिजो बेलुका दीपदान गरी आज बिहानै पितृको सम्झनामा शतबीज छरी बाला चतुर्दशीपर्व मनाइएको हो।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकोमा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गरे र बिहान शतबीज छरेका छन्। आफ्नो परिवार भित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। बाला चतुर्दशीको पूर्व सन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको रातिभक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजन कीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ।