कुरिनटार, १९ जेठ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनालाई आगामी आर्थिक वर्ष २०७९।८० को लागि संघिय सरकारबाट ३८ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले आईतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९।८० को बजेट अनुसार इच्छाकामना गाउँपालिकालाई ३८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो।
प्राप्त विवरण अुनसार गाउँपालिकालाई समानीकरण अनुदानतर्फ न्युनतम अनुदान ३ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा ७ करोड ४६ लाख र कार्य सम्पादनको आधारमा ४८ लाख रुपैयाँ गरि ११ करोड १९ लाख रुपैयाँ विनियोजन भएको छ। चालु वर्षमा भन्दा आगामी वर्षमा समानीकरण अनुदानतर्फ न्युनतम अनुदानमा ५० लाख, कार्य सम्पादन आधारको अनुदानमा १ लाख घटी बजेट आएको छ भने सुत्रमा आधारित अनुदानमा ४० लाख बढेर बजेट आएको छ । समग्रमा तुलनमा गर्दा समानीकरण अनुदान तर्फको बजेटमा गत वर्ष भन्दा ११ लाख रुपैयाँ घटेको छ ।
यस्तै सशर्त अनुदानतर्फ चालु खर्चको लागि २२ करोड ४८ लाख र पूँजीगत खर्चको लागि १ करोड ८३ लाख रुपैयाँ गरि २४ करोड ३१ लाख रुपैयाँ विनियोजन भएको छ। चालु र आगामी आवको सशर्त अनुदानतर्फ बजेटलाई नियाल्दा चालु खर्च ८३ लाख बढेर आएको छ भने पूँजीगत खर्च ३२ लाख घटेर आएको छ । दुवैलाई समग्रमा तुलना गर्दा गत वर्ष भन्दा ५५ लाख बढि बजेट आएको छ।
यसैगरी विशेष अनुदान तर्फ पूँजीगत खर्चको लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ। विशेष अनुदानतर्फ पूँजीगत खर्चको लागि चालु आर्थिक वर्षमा गत वर्ष भन्दा ४ लाख बढि बजेट आएको छ । यस्तै यस वर्ष समपुरक अनुदानको रुपमा पूँजीगत प्रकृतिको ८० लाख रुपैयाँ बजेट थप आएको छ ।
उल्लेखित बजेट अनुसार गाउँपालिकाले संघिय सरकारबाट आगामी वर्षका लागि चालु खर्च तर्फ ३३ करोड ६७ लाख र पूँजीगत खर्च तर्फ ४ करोड ३३ लाख गरि ३८ करोड रुपैयाँ बजेट बिनियोजन भएको देखिन्छ। जस अनुसार चालु वर्ष भन्दा आगामी वर्षका लागि १ करोड ५१ लाख र पूँजीगत खर्चतर्फ ५२ लाख बजेट बढेर आएको छ ।
गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष २ करोड ३ लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संभिय सरकारबाट ३५ करोड ९७ लाख रुपैयाँ पाएको थियो।