पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङ लोप्राङका स्थानीयले बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । नजिकै खानेपानीको मुहान नहुदा चैत, बैशाखमा मात्र नभएर हिउँदमा समेत स्थानीयले खाने पानीको अभाव झेल्दै आएका हुन् ।
वडामा प्राप्त मात्रमा खानेपानीको मुहान नहुदा साबिकको वडा नम्बर ९ लोप्रङका १ सय भन्दा बढी घर परिवारले अझैपनि ढुंगेयुगमा जस्तै कुवाको पानी खोजेर खानुपर्ने बाध्यता रहेको नाग्लिवाङका वडा अध्यक्ष हरि विकास जिसिले जानकारी दिनुभयो । त्यहाँका बासिन्दाले घण्टौको बाटो हिडेर, लाइनमा बसेर कुवा र खोल्साखाल्सीको पानी खोजेर खान बाध्य भएको जिसिले बताउनुभयो ।
छिमेकी वडा बनौंमा खानेपानीका प्रशस्त मुहान भएपनि राजनीति दबाब र खिचातानीका कारण त्यहाँको पानी आफ्नो वडामा लिन नसकेको जिसिले दुखेसो गर्नुभयो । गत बर्ष साबिक ७ नम्बर वडाको एउटा मुलबाट सानो पाइपमा लोप्राङका लागि खानेपानी लगेको भएपनि आफ्नो बस्तिमा खानेपानी प्राप्त नभएको भन्दै स्थानीयले लोप्राङमा लगेको पानीको पाइप निकालेर फलेको उहाँले बताउनुभयो ।
गाउँमा प्राप्त पानी नहुदा स्थानीयलाई खानेपानी मात्रा होइन सरसफाइ र सिचाइमा समेत समस्या भएको छ । खानेपानीको समस्याका कारण त्यहाँका १५ ÷/१६ परिवार बसाइँसराइ गरेर अन्यत्र गएको वडा अध्यक्षको भनाइ छ । खानेपानी समस्याको समाधानका लागि संघ र प्रदेशलाई अनुरोध गरेपनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
त्यस गाउँमा पानीको अभाव हुँदा सरसफाइ, तरकारी बाली सिचाइ गर्न समेत समस्या भएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले उक्त स्थानमा बिगत देखि नै खानेपानीको अति नै समस्या भएको तर समाधानका लागि पालिकाबाट प्रत्येक बर्ष बजेट छुट्टाए मुहानको खोजी गर्दा पनि उपयुक्त ठाउँमा पानीको मुहान नभएकोले बजेट यसै फ्रीज हुने गरेको बताउनुभयो ।