आँबुखैरेनी, ११ असार । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीले हरेक वर्ष प्रदान गर्दै आईरहेको विभिन्न पुरस्कारहरु यस वर्ष पनि घोषणा गरेको छ। समाजको आज आँबुखैरेनीमा बसेको बैठकले २०७८ सालको विभिन्न पुरस्कारहरुको घोषणा गरिएको हो।
पुरस्कार छनौट समितिको संयोजक सानुकाजी थापाको टिमले गरेको सिफारिसको आधारमा ‘आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८’ बाट साहित्य विद्यातर्फ कवि खुमनारायण पौडेल, ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार–२०७८’ बाट हास्यव्यङ्ग्य विधातर्फ हास्यकलाकार सुभाष गजुरेल र ‘उत्कृष्ट खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ बाट ‘हेर्ने कथा’ मार्फत खोजमूलक र साहसिक पत्रकारिता गर्दै आएकी पत्रकार विद्या चापागाइँलाई पुरस्कृत गरिने आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए।
यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसका स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल व्यवस्थापन संकायतर्फका मञ्जु थापा र शिक्षाशास्त्र संकायतर्फका सुलना गुरुङ्लाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार यही भदौ २४ र २५ गते आँबुखैरेनीमा एक काव्योत्सव गरी प्रदान गरिने उनले बताए।
बैठकले आँबुखैरेनीको साहित्य, कला र संस्कृतिको उन्नयन र विकासको लागि आँबुखैरेनी गाउँपालिकाले आ. ब. २०७९।०८० को लागि बजेट विनियोजन गरेकोमा गाउँपालिका प्रमुख लगायत सम्पूर्ण गाउँपालिका परिवारमा धन्यवाद पनि ज्ञापन गरेको छ ।