गोरखा, १५ असार । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले किसानहरुलाई कृषि चक्लाबन्दीमा जोडिन सवै कृषकहरुलाई जोडिन आग्रह गर्नुभएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी मनकामनामा धान दिवसको अबसरमा आज आयोजित रोपाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो । कृषिमन्त्री बुढाले देशमा रोजगारीको सृजना गर्न तथा गरिबी निबारणका लागि पनि कृषि मुख्य आधार भएकाले कृषिलाई आधुनिकीकरण, र यान्त्रिकीकरणमा जोड दिएर उत्पादन बढाउनुपर्ने बताउनुभयो ।
उहाँले कृषि उत्पादनमा आयातलाई प्रतिस्थापन गरेर यहाँ उत्पादित बस्तुलाई निर्यात गर्न सके मात्र राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताउनुभयो । उहाँले गण्डकी प्रदेशले सुरु गरेको चक्लाबन्दी कार्यक्रमले कृषि उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले मात्र कृषि क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेमा जोड दिनुभयो ।

मन्त्री बुढाले अब किसानालाई चक्लाबन्दीमा जोड दिन स्थानीय सरकार तथा संघिय सरकारपनि लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सासंद तथा पूर्व कृषिमन्त्री लेखबहादुर थापाले व्यवसायिक रुपमा कृषि खेतीलाई अगाडी बढाउन सके मात्र स्वरोगारीको थप अवसर सृजना हुने बताउनुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनकामनाको आयोजनामा भएको कार्यक्रममा जलदेवी बिजबृद्धि कृषक समुह, मनकामना क्षेत्रबिकास समिति, सहिद लखन गाउँपालिका वडा नम्बर ३ को सहकार्य रहेको थियो । कार्यक्रम शहीद लखन गाउँपालिका गोरखाको आर्थिक सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ ।