काठमाण्डौ, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति नभएको जनाएको छ।
दुईजना अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्नेबाहेक कुनै सहमति नभएको सचिवालयले जनाएको छ। प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत दुई विषयमा मात्र सहमति भएको उल्लेख गर्नुभएको छ।
दुवै अध्यक्षले पेस गरेका आरोपपत्र फिर्ता गर्ने सहमति भएको समाचार बाहिरिएपछि प्रचण्डको सचिवालयले अध्यक्षहरुबीच दुई विषयमा मात्र सहमति भएको जनाएको हो। स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि सरकारले ल्याएको अध्यादेश फिर्ता र संसद् बोलाउने प्रस्तावबाहेक कुनै पनि सहमति नभएको बताउनुभयो। अरु विषयमा आगामी स्थायी कमिटी बैठकमा छलफल हुने उहाँको भनाई छ।