लिलप्रकाश चन्द, बाजुरा, १९ असार । चाहिएजति रासायनिकमल नपाएका कारण मुलुकभरका किसान भौँतारिरहेका छन् । सरकारले यो असारमहिनाभित्रैमा माग अनुसारको मल आपूर्ति गर्ने प्रतबद्धता जनाए पनि पूरा हुन सकेको छैन । तर बाजुराका किसानहरूलाई भने रासायनिक मल नभएकोमा कुनै चिन्ता छैन ।
बाजुरा सदरमुकाम मार्तडीमा स्थानीय लालबहादुर खड्का करेसाबारी खन्दै गरेको अवस्थामा भेटिनुभयो । आलु लगाइसकेको बारीमा मकै र भटमास रोप्न तयारी गर्दै गोठेमल मिसाउन थाल्नुभएको रहेछ ।
लालबहादुर मात्रै होइन, बाजुराकै बडीमालिका नगरपालिका २ का सर्मिला सागरले पनि खेतबारीमा अहिलेसम्म रासायनिक मल प्रयोग गर्नु भएको छैन । ७० वर्षका पुनि थापा अझैँ पनि गाइभैसीको स्याहारसुसार र भकारो व्यवस्थापनमा बिहान, दिउँसो र साँझ नभनी खट्नुहुन्छ ।
यो मेहनतको प्रतिफल करिब २ रोपनी क्षेत्रफलको खेतीबारीका लागि पर्याप्त गोठेमल उत्पादन भइरहेको छ । मार्तडीकै मोना थापालाई हिजोआज कोदो सार्न भ्याइनभ्याइ छ । उहाँको बारीमा गोठेमलका चोइटाहरू ठाउँठाउँमा देखिन्छन् ।
जिल्लाको त्रिवेणी र बुढीगंगा नगरपालिकामा किसानलाई रासायनिक मलमा बानी पार्न निःशुल्क वितरण गरिएको थियो । यो २०५१ सालतिरको कुरा । यति गर्दा पनि किसानहरू यसतर्फ आकर्षित भएनन् र उनीहरू कम्पोष्ट मल, गोठेमलको प्रयोगमा लागे । कमजोर आर्थिक अवस्था र पर्याप्त आपूर्ति नहुँदा बाजुराबासी रासायनिक मल प्रयोग गर्न पाउँदैनन् ।
९ स्थानीय तह रहेको जिल्लाका ६ स्थानीय तहका नागरिक गोठेमलमा निर्भर छन् । अर्गानिक उत्पादनको महत्व बड्दै जाँदा ती स्थानीय तहलाई अर्गानिक घोषणा गर्न सकिने भए पनि यसबारेमा कुनै छलफल भएको छैन । बाजुरामा त्रिवेणी र बुढीगंगा नगरपालिकाका किसानले रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा २४ हजार घरधुरी किसान छन् । तीमध्ये करिब ७ हजार घरधुरीको मात्रै रासायनिक मलको पहुँच छ ।