जनार्जन खत्री, सर्लाही, २३ असार । भन्सार विभागका अनुसार नेपालमा बर्सेनि झन्डै १४ अर्ब मूल्य बराबरको तरकारी आयात हुने गरेको छ । तर, नेपालमै उत्पादन भएका तरकारीले मूल्य र बजार नपाउँदा खेर गइरहेको छ ।
सर्लाहीका किसानले आफुले उत्पादन गरेका कृषि उपजले बजार नपाएको गुनासो गरेका छन् । सर्लाही लालबन्दी नगरपालिका १७ रानिगन्जका, प्रवीण पौडेलले तीन कठ्ठा क्षेत्रफलमा ३० हजारभन्दा बढी खर्च गरेर लगाएको बोडीको उचित मूल्य नपाएको गुनासो गर्नुभयो ।
महोत्तरीको गौशाला नगरपालिका १२ लक्ष्मिनियाकागम्भीरा साह तेलीले ८ कठ्ठामा झिम्नी र ४ कठ्ठामा लगाएको करेलाले मूल्य नपाउँदा लागत खर्चपनि नउठ्ने बताउनुभयो ।
व्यापारीहरूका अनुसार मागभन्दा धेरै तरकारी उत्पादन भएका कारण किसानले तरकारीको मूल्य पाउन सकेका छैनन् । जबकी कृषिमा आत्मर्निभर बन्ने लक्ष्य पुरा गर्न नसकेकै कारण नेपालले अरबौंको तरकारी आयात गर्नु परिरहेको छ ।