काठमाण्डौ, ३ पुस । मन्त्रिपरिषद् बैठकले विवादास्पद संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनेबारे निर्णय गर्ने अपेक्षा गरिएपनि हिजोको बैठकमा सामान्य छलफल समेत भएन । बैठकमा सहभागी मन्त्रीहरुका अनुसार हिजो साँझको बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि हिजो बैठकमा सामान्य छलफल समेत नभएको एकजना मन्त्रीले सीआर्ईएनलाई जानकारी दिनुभयो । अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्छ । तर मन्त्रीपरिषद् वैठक यसबारे मौन बसेपछि नेकपा भित्रको विवाद् झनै बढ्ने नेताहरुले बताएका छन् ।