Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नेपाली नोकरशाहीको व्यवहारबाट वाक्कदिक्क भएपनि फोहोरबाट नविकरणीय उर्जा बनाउने मेसिनका उत्पादक भन्छन्- 'फोहोर दिनुस् नि:शुल्क व्यवस्थापन गर्छौं'

नेपाली नोकरशाहीको व्यवहारबाट वाक्कदिक्क भएपनि फोहोरबाट नविकरणीय उर्जा बनाउने मेसिनका उत्पादक भन्छन्- 'फोहोर दिनुस् नि:शुल्क व्यवस्थापन गर्छौं'

नेपाली नोकरशाहीको व्यवहारबाट वाक्कदिक्क भएपनि फोहोरबाट नविकरणीय उर्जा बनाउने मेसिनका उत्पादक भन्छन्- 'फोहोर दिनुस् नि:शुल्क व्यवस्थापन गर्छौं'
images

प्रकाश दाहाल, हेटौंडा, २८ असार । ५४ वर्षीय कृष्ण खतिवडा अहिले फोहोर व्यवस्थापनका लागि मेसिन निर्माण गर्न व्यस्त हुनुहुन्छ। जापानी वैज्ञानिकसँग मिलेर उहाँको कारखानामा बनाइएको यामातो अल्टनेटिभ रिनुएवल इनर्जी फर्म वेस्ट मेसिनले  नाम अनुसार फोहोरबाट नविकरणीय उर्जाको उत्पादन गर्छ। लामो अनुसन्धान गर्दै विकास गरिएको यो मेसिनले फोहोरबाट डिजेलको सट्टा प्रयोग हुन सक्ने सिन ग्यास (सेन्थेसिस ग्यास- हाइड्रोजन, कार्बन मोनोअक्साइड र केही कार्बनडाइअक्साइडको मिश्रण भएको इन्धन ग्यास), प्राङ्गारिक मल, क्लिङ्कर र ब्रिकेट कोइलाको उत्पादन गर्छ।

images
images

२०४८ सालदेखि नै हेटौंडाको औद्योगिक क्षेत्रमा अण्डाको क्रेट उद्योग चलाउनुभएको थियो। त्यसो त मेसिनरी पार्ट्स बनाउन उहाँ पहिले देखिनै लगनशील रहनुभयो। उहाँले भन्नुभयो – “२०५२ सालदेखि मेसिनरी पार्ट्स बनाउने गरेको थिएँ। त्यो बेला देखिनै हेटौंडाको अन्य उद्योगहरूका लागि विभिन्न  मेशिनरी पार्ट्स निर्माण गरेर बेच्ने काम गरेको थिए।” हेटौंडा औद्योगिक क्षेत्रमा क्रिष्टल पाइप भन्ने उद्योग चलाएको पनि  उहाँले स्मरण गर्नुभयो।

यामातो--1024x576.jpg

खतिवडाको धर्मपत्नी गम्भीर रोगबाट पीडित हुनुभयो। पत्नीको उपचार नेपालमा सम्भव नभएपछि  २०५६ सालमा खतिवडा दम्पती बेल्जियम जानुभयो। उपचार गरेर नेपाल फर्कने उद्देश्यले गए  पनि उपचारको क्रममा उतै बस्नु पर्ने भयो। अहिले पनि ६- ६ महिनामा उतै फलोअपमा जानुपर्छ। सन् २००७ बेल्जियममा नै जापानी स्टोर खोल्नुभयो। जापानी उपभोक्तालाई लक्षित गरेर खोलिएको स्टोर नै उहाँको लागि टर्निङ पोइन्ट भयो। जापानीहरूसँग सङ्गत गर्ने अवसर पनि जुर्यो। त्यसबाट जापानीहरूसँग राम्रो सम्बन्ध भयो। उहाँले भन्नुभयो-” म त कमर्सको विद्यार्थी हुँ तर पनि मलाई यो क्षेत्रमा धेरै लगाव छ भन्दा पनि धेरैसँग यो विषयमा छलफल भयो तर जापानीहरू यसमा उत्सुक र कामलाई पूर्णता दिनसक्ने पाइयो।  २०१५ बाट यो प्रोजेक्टमा हिँडे।” यही विषय नपढे पनि धेरै खोज अनुसन्धानमा सहभागी भएको उहाँले सुनाउनुभयो।

प्लाष्टिकको व्यवस्थापन नगरी वातावरण नजोगिने निष्कर्ष निकालेर त्यसमा हामीले के गर्नुपर्छ भन्ने धेरै जापानी वैज्ञानिकहरूसँग छलफल भएपछि यो प्रविधि विकास गरिएको उहाँको अनुभव छ। “यसको लागि धेरै सूचनाहरू संकलन गरियो। सेमिनारहरूमा भाग लिइयो। धेरै कार्यक्रमहरूमा सहभागी भइयो।” उहाँले भन्नुभयो- ” पछि हामीले “रिसर्च एण्ड डिभलपमेन्ट” लाई व्यापकरूपमा अगाडि बढायौं। पहिलो इण्डोनेसिया, इण्डियाको गान्धीनगरमा पनि “रिसर्च एण्ड डिभलपमेन्ट”का विभिन्न चरणका काम गरियो।”

सुरुमा एउटा मेसिन जापानमा निर्माण गरियो। त्यो मेसिन जापानी वैज्ञानिकले निर्माण गर्नुभयो। उहाँसँगै बसेर धेरै काम गरियो। त्यसपछि फिलिपिन्समा सञ्चालन गरिएको थियो। त्यसको  अपडेट भर्सन मकवानपुरको मनहरी गाउँपालिकाको खरंगामा ५२ कठ्ठा क्षेत्रफलमा चलाएको उहाँले जानकारी दिनुभयो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा जम्मा ७ कठ्ठामा मात्र चलाएको छ। यो क्षेत्रमा सारेको केही समय मात्र भयो।

नेपाल सरकारको कस्तो सहयोग रह्यो त भन्ने आईएनएसको प्रश्नमा सरकारबाट सहयोग त पाइएन पाइएन प्रोत्साहन पनि  नपाएको दुखेसो गर्नुभयो। विदेश पठाउन नमिल्ने क्याटगोरीमा मेसिनरी पार्ट्स पनि राखिएको रहेछ। सरकारका विभिन्न तहमा कुराकानी भए पनि यसको बारेमा निष्कर्ष ननिक्लिएको उहाँले बताउनुभयो। नेपालका तीनै तहका सरकारसँग छलफल भए धेरै प्रिजेन्टेसन पनि भए कुरा सकारात्मक भए तर कामचाहिँ सकारात्मक नभएपछि अहिले आफूले भन्न छोडेको बताउनुभयो।
जापानी साझेदारहरूसँग सल्लाह गरेपछि अब नेपालमा रिसर्च एण्ड डिभलभमेन्ट मात्र गर्ने बाँकी काम जापानमा नै गर्ने र आवश्यक पार्ट्सहरू इण्डियामा बनाउने योजना अगाडि सर्यो।

कोभिडले गरेर थोरै मात्र मेसिन बनाइएको उहाँले बताउनुभयो ४ वटा मात्र बनाएको छ। प्रविधिको विकास गरिएकाले इन्डोनेसिया, फिलिपिन्स, हेटौंडामा मेसिन निर्माण भएका छन्। यसको अत्याधुनिक  अपग्रेड भर्सन जापानमा रहेको उहाँले सुनाउनु भयो।

यामातो-२-1024x462.jpg

हाल चिन, इटाली, जर्मनी र इण्डियाबाट सामग्री ल्याउने गरिएको र जापानबाटै तालिम गराएको कामदारहरूले काम गरिरहेका छन्।

त्यसो त अहिले बैकले लगानी गर्न रोकेकाले उद्योग क्षेत्रमा असर परेको उहाँको भनाई छ। कुनै क्षेत्रबाट पनि सहयोग भएन। काठमाडौ देखि नेपालको हरेक क्षेत्रमा समस्या छ तर यसमा ठोसरूपमा यसबारे कसैले चासो नदेखाएको पनि उहाँको आरोप छ। “अहिले पनि जापानले सहयोग गर्छ,  शहरी विकास मन्त्रालयले चिठी लेख्या छ परराष्ट्र मन्त्रालय हुँदै राजदूतावास मार्फत जापान पुग्नुपर्ने अहिलेसम्म पुगेको छैन १० महिना भयो, अनि कसरी काम अगाडि बढ्छ”, उहाँको प्रश्न छ। नेपालका मुख्य शहरहरूमा नि:शुल्क दिने भन्ने थियो तर चिठी नपुग्दा रोकिएको उहाँको भनाइ छ। मेसिन निर्माणका लागि ३ महिना लाग्ने उहाँले जानकारी दिनुभयो।

काठमाडौ उपत्यकाको फोहोरको समस्या समाधान हुने उहाँको भनाइ छ। यो भन्दा पहिला काठमाडौका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले पनि यस विषयमा चासो देखाउनुभएको थियो। उहाँले यो मेसिन राख्न अत्यधिक चाहेको पनि बताउनुभयो तर त्यतिवेला उहाँको भन्दापनी अन्य विभिन्न जञ्जालका कारण काम अगाडि बढ्न सकेन। कसैले किन्न खोजे यो मेसिनलाई हाल २ करोड पर्ने खतिवडाको भनाइ छ।

स्थानीय तहले फोहोर व्यवस्थापनको जिम्मा दिएमा  मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ। फोहोर व्यवस्थापन गर्दा सिन ग्यास, प्राङ्गारिक मल, क्लिङ्कर तथा ब्रिकेट कोइला निस्कने भएका कारण पनि नि:शुल्क फोहोर व्यवस्थापन गर्न सहज हुने उहाँले बताउनुभयो।

मेसिनले फोहोरबाट शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ।  मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ देखि १ मेगावाटसम्म विद्युत् उत्पादन हुने गरी सिन ग्यास उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो। खतिवडाका अनुसार कुहिने फोहोरबाट कोइला तथा प्राङ्गारिक मल बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ। मेसिन भित्र जडान भएका सिस्टमले उचित तापक्रम मिलाएर फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै हुने दाबी उहाँको छ। ” प्लाष्टिकजन्य फोहोरलाई जलाउने प्रविधि प्रयोग गरेर नष्ट गरेको पनि देखेका छौँ तर यो वातावरण मैत्री छैन तर हामीले  रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री छ। ”

नेपालमा फोहोर व्यवस्थापनको चुनौती दिन दिनै बढेको भन्दै कृष्ण खतिवडाले भन्नुभयो- ” फोहोरसँगै  स्थान र सुरक्षाको ग्यारेन्टी दिनुस्, हामी नि:शुल्क फोहोर व्यवस्थापन गर्छौं।”

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - २१:०५:४५ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology