काठमाण्डौ, पुस ५ । पार्टीभित्रको विवाद र समिकरण मिलाउनका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेपछि नेकपामा तरङ्ग सिर्जना भएको छ । हिजो खुमलटारमा भएको दुई अध्यक्षबीचको बैठकमा प्रधानमन्त्री ओलीले बिभिन्न आरोपसहितको पत्र फिर्ता लिन राखेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको थियो ।
प्रचण्डले भने यसबारे स्थायी कमिटिमा बसेर छलफल गरौँभन्ने जवाफ दिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । अस्ति आफ्नै निवास भैँसेपाटीमा भएको नेकपाका नेताहरूको बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले आफूलाई अध्यक्ष पदका लागि प्रस्ताव गरेको जानकारी गराउनुभएको थियो ।
आगामी महाधिवेशनसम्म अध्यक्ष पदमा गौतम र पुष्कमल दाहाललाई राखेर आफू भने प्रधानमन्त्रीमा रहिरहने कुटनीतिका रूपमा ओलीले यस्तो प्रस्ताव रेको हुनसक्ने कतिपयले ठानेका छन् । यसअघि पनि पार्टीभित्र देखिएको विवाद मिलाउनका लागि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीकै पदको प्रस्ताव गरेपछि उहाँ ओलीतिर ढल्किनुभएको थियो ।
प्रधानमन्त्री ओलीको पछिल्लो प्रस्तावकै कारण गौतमले आफू सचिवालयका नेताको बैठकबाहेक अरु कुनै पनि गुटको भेलामा नजाने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।