लिओनल मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । लिगअन्तर्गत गएराति भएको खेलमा दुवै टोलीले एकएक पटक अग्रता लिए पनि अन्त्यमा खेल २÷२ को बराबरीमा सकियो ।
घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ । १३ खेल खेल्दा बार्सिलोनाले ३ खेल बराबरी गर्दा ४ खेल हारेको छ । ६ खेलमा भने बार्सा विजयी भएको छ ।क्याम्प नोउमा भएको खेलको २९औं मिनेटमा माउटार डिएखाबीले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाउनुभएको थियो ।
त्यसपछि बार्सिलोनाले लगातार दुई गोल गर्द अग्रता बनायो । अन्त्यमा भ्यालेन्सियाले बराबरी गोल फर्कायो ।पहिलो हाफको इन्जुरी समयमा लिओनल मेसीले गोल गर्दै खेल बराबरी गर्नुभयो भने पेलेले राखेको एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गर्नुभयो । मेसीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा ६ सय ४३ गोल गर्नुभएको छ । पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६ सय ४३ गोल गर्नुभएको छ ।