भुवन रायमाझी, पाल्पा । पाल्पा रामपुरको चिन्ते–छाङ्दी झरनामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यसअघि यो झरनाको बारेमा धेरैलाई चासो नभएको भए पनि डिभिजन वन कार्यालय पाल्पामार्फत स्याहार तथा सम्भार गरिएपछि आन्तरिक पर्यटक बढेका हुन् ।
रामपुर नगरपालिका १ को चिन्ते सामुदायिक वनमा भएको छाङदी झरनामा कालीगण्डकी करिडोरको स्तरोन्नतिसँगै जिल्ला बाहिरबाट समेत पर्यटक आउने गरेका छन् ।
डिभिजन वन कार्यालय पाल्पाले ७ लाख रुपैयाँको लगानीमा झरना भएको क्षेत्रमा पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्गसहित, बालबालिकाको लागि पौडी खेल्ने ठाउँ, सेल्फी स्टेसन लगायतका संरचना थप गरेको छ ।
चिन्ते सामुदायिक वनका अध्यक्ष खिमबहादुर नेपालीले झरना भएको क्षेत्रमा पुर्वाधारको विकास नहुँदा घाँस काट्न समेत मानिसहरू जान डराउने भए पनि अहिले त्यहि क्षेत्र पर्यटकिय बनेको बताउनुभयो ।
झरनासँगै रहेको गुफामा विभिन्न देवी देवताका आकृति बनाइएका कारण पनि धार्मिक पर्यटकीयस्थलको रुपमा प्रचार गरिएको छ । करिब १ सय ५० मिटरको उचाईबाट झरनामा पानी झर्छ । डिभिजन वन कार्यालयको ६ लाख७३ हजार र उपभोक्ताको ६७ हजारभन्दा धेरै रकम खर्च गरेर थप व्यवस्थित बनाइएको डिभिजन वन कार्यालयका वन अधिकृत दिपक ज्ञवालीले बताउनुभयो ।
सदरमुकाम तानसेनबाट करिब ७० किलो मिटर पूर्वमा रहेको यो झरनाको माथिल्लो भागमा ढभाह खोला, छाङ्दी पधेँरा, छापको पधेँरा, ढभाह चिसोपानीको मूल र दुई वटा झरना, पूजा गर्ने मन्दिर छ । यस क्षेत्रको अवलोकनका लागि दैनिक २ देखि ३ सय आन्तरिक पर्यटक आउने गरेका छन् ।