आनन्द साउँद, अछाम । सङ्घीयता लागू भएर गाउँगाउँ वडा कार्यालय पुगेसँगै नागरिकलाई सेवा र सुविधामा केही सहज भएको छ । तर, कतिपय स्थानमा भने आफ्नै वडा कार्यालय पुग्नको लागि दिनभरी हिड्नुपर्ने बाध्यता पनि छ । त्यस्तो ठाउँमा नागरिकलाई सहज हुने गरी वडाले घुम्ती शिविर चलाउने गरेका छन् ।
अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर १४ ले वडाबाट प्राप्त हुने सम्पूर्ण सेवाहरू घुम्ती शिविरबाट प्रदान गरिरहेको छ । वडाबाट खटिएका कर्मचारीको टोलीले नागरिकताको सिफारिस दिने, जन्मदर्ता गराइदिने, मृत्युदर्ता गराइदिने, आवश्यक सिफारिस र कागजात निर्माण गर्ने जस्ता सेवा दिइरहेका छन् । वडा कार्यालयबाट पाइने सेवा आफ्नै टोलमा नै पाएपछि नागरिक पनि खुसी भएका छन् ।
मङ्गलसेन नगरपालिकाले नगरका सबै वडामा एकीकृत घुम्ती सेवा सञ्चालन गरी नागरिकलाई घरदैलोमा नै सेवा दिईरहेको छ । विशेषगरि सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म धाउनुपर्दा समस्यामा परेका जेष्ठ नागरिक घरदैलोमा नै यो पाएपछि खुसी भएका छन् । पालिकाले निश्चित दिन र समय तोकेर सेवा दिइरहेको छ ।
नगरपालिकाले नगर सरकार, जनताको घरघर कार्यक्रम अन्र्तगत साउन महिनाभरी नगरभरी कार्यक्रम सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण नवीकरण, नयाँ लाभग्राहीको विवरण दर्ता, एकीकृत सम्पत्ति कर मालपोत सेवा तथा व्यापार व्यवसाय दर्ता र नवीकरण सेवा दिएको हो ।
जनताको घरदैलोमै सेवा दिँदा वास्तविक विवरण आउने, करको दायरा बढ्ने तथा यसबाट शुशासन कायम हुने मङ्गलसेन नगरपालिका शुशासन समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहराको भनाइ छ । मङ्गलसेन नगरपालिकाले नगरका करिब १० हजार नागरिकलाई सेवा दिने लक्ष्य लिएको छ ।