सुशिला श्रेष्ठ, काठमाडौँ । पछिल्लो समय सहकारी संस्थाहरूबाट बचतकर्ताठगीमा पर्ने क्रम बढेको छ । त्यसको प्रभावकारी नियमन नहुँदा लाखौ बचतकर्ताको अर्बौ रकम जोखिममा परेको छ ।
१३ हजार ६६ बचतकर्ता रहेको धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले गत ३ महिनादेखि सहकारीले बचतकर्ताको पैसा फिर्ता दिएको छैन ।
आवश्यक परेको बेला रकम नपाउँदा निकै समस्यामा परेको बचतकर्ता लक्ष्मण थापाले बताउनुभयो ।
काठमाडौँ डिल्लीबजारस्थित स्मृति बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले पनि ६ महिनादेखि निक्षेप फिर्ता पाउन सकेका छैनन् । काठमाडौँका मात्रै एक सय वटा सहकारी विरुद्ध महानगरपालिका कार्यालयमा उजुरी परेको महानगरका सहकारी विभाग प्रमुख देबेन्द्र पोखरेलले बताउनुभयो ।
सहकारी विभागका अनुसार गत आर्थिक वर्षमा ३ सय सहकारी विरुद्ध उजुरी दर्ता भएका छन । जसमा ३१ उजुरी प्रहरीकोमा पठाईएको छ । ती मध्य ८० प्रतिशतभन्दा बढि उजुरी निक्षेप रकम फिर्ता नपाएको विषयमा छन् ।
तर विभागले उजुरी उपरको कारबाहीमा प्राय मिलापत्र गर्ने गरेको विभागका सुचना अधिकारी टोलराज अधिकारीले बताउनुभयो ।