रोशन तिवारी, पर्वत । पर्वतको कुश्मा नगरपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने योजना अलपत्र परेको छ । कुश्मा नगरपालिका १ मा औद्योगिक ग्रामका लागि जग्गा सम्याउने र तारबार लगाउने काम भैरहेका बेला वन मासिएको भन्दै मुद्धा परेपछि औद्योगिक ग्रामको काम रोकिएको हो ।
२०७४ सालमा औद्योगिकग्रामको योजना परेको कुश्मामा जग्गाको खोजी गर्दा नै एक वर्ष लाग्यो । परामर्शदाता छनौट, बोलपत्र आह्वान लगायतका प्रक्रिया पूरा गर्दा २०७६ फागुनमा बल्ल काम सुरु भयो । नेपाने सामूदायिक वन क्षेत्रभित्र पर्ने औद्योगिकग्राम निर्माणका लागि पहुँच मार्ग बनाउने, जग्गा सम्याउने र घेराबार लगाउने काम चलिरहेको बेला रुख मासेको भन्दैवन समितिले उजुरी गरेपछि काम रोकिएको छ ।
औद्योगिकग्राम निर्माणका लागि एक सय ८० रोपनी जग्गा अधिग्रहण गरिएको छ । एकातिर काम गर्दै जाने र अर्कोतिर प्रक्रियागत झन्झट फुकाउँदै जाने कुश्मा नगर कार्यापालिकाको निर्णय अनुसार योजनाको काम अगाडी बढाएको सरोकारवालाहरु बताउँछन् । तर, कुश्मा नगरपालिकाले भने वनमा क्षति नपुगेको बताएको छ ।
मन्त्रिपरिषद्ले वनको जग्गा अधिग्रहण गर्नुअघि भोगाधिकारको विषय टुङ्गाउन प्रस्ताव गरेको कुश्मा नगरपालिकाले जनाएको छ । विकास निर्माण चलिरहँदा फरक फरक निकायबीच समन्वय हुन नसक्दा काम रोकिने र ढिलासुस्ती हुने गरेको छ । प्रक्रियागत रुपमा रहेको बहुप्रतिष्ठित औद्योगिकग्राम निर्माणको काम पनि समन्वय नहुँदा अलपत्र परेको छ । यसको उचित समाधान निकाल्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।