काठमाडौ । भिडियो शेयरिङ एप टिकटकमा लाइभमा आएर जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका ३ घर भइ ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका १० का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमि नगरपालिका ६ घर भइ मध्यपुर १ २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका ६ घर भइ मध्यपुर थिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थी छन् ।
उनीहरूले काठमाण्डौ उपत्यकाभित्र आफ्नो ई–सेवा लगायतका डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई पैसा जम्मा गर्न लगाइ जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई गएको मङ्गलवार काठमाण्डौ उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका ठाउँबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।