Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दोस्रो गैडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

दोस्रो गैडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

images

इच्छाकामना न्युज

२२, माघ २०७९
दोस्रो गैडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा
images

प्रेम क्षेत्री, गैँडाकोट । गैँडाकोटमा हुने दोस्रो गैडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ ।

यहि माघ २६ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । आईतबार नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले नव प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थाको नाममा खेलमैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धन लगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी नै रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताउनुभयो । साथै उहाँले प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय रहेको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघमा आवद्ध छिमेकी जिल्लाहरुलाई आधार बनाई टिम छनोट गरिएको बताउनुभयो ।  

प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेलले मापदण्ड अनुसार खेलमैदान योग्य रहेको बताउनुभयो । साथै उहाँले दुई वटा पिच निर्माण लगायत खेल मैदानको क्षेत्रफल विस्तारमा जोड दिन सुझाव दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र एवं उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष विष्णुप्रसाद कंडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिमको सहभागिता रहने प्रतियोगिताका सञ्चार संयोजक एवं आयोजक संस्थाका सचिव नारायण सापकोटाले जानकारी दिनुभयो ।

‘स्वास्थ्य एकता र समुन्नतीका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ नवजागरण ग्रामिण विकास केन्द्रको आयोजना, गैँडाकोट नगरपालिकाको प्रवद्र्धन, नवलपुर जिल्ला क्रिकेट संघ, गण्डकी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट संघको समन्वयमा नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५÷५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य प्रायोजक इनाक्षी इन्टरटेन्मेन्ट प्रा.लि. एण्ड सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया, प्रायोजक जयश्री फुड्स प्रा.लि. गैँडाकोट र एम्स एब्रोड एजुकेशन भरतपुर रहेका छन् । सह–प्रायोजकमा कर्मा रेष्टुरन्ट एण्ड सेकुवा कर्नर, कालिका रिफाईनरी प्रा.लि., शुभलक्ष्मी सेनेटरी उद्योग, स्मार्ट टेक एग्रो एण्ड बायो इनर्जी प्रा.लि. र नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर र पर्वतबीच २६ गते ११ बजे प्रतिस्पर्धा हुँदैछ । सोही दिन खेल मैदान नजिक निर्माण गरिएको क्रिकेट प्रशिक्षण केन्द्रको उद्घाटन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता राष्ट्रिय खेलाडीले समेत सहभागिता जनाउने छन् । प्रतियोगिता अवधिभर खेलाडीलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ । प्रतियोगिता अवधिभर करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।  

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - २२:२१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology