Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तीन करोड लगानीमा खुलेको कम्पोष्ट प्लान्ट उपयोगविहीन

तीन करोड लगानीमा खुलेको कम्पोष्ट प्लान्ट उपयोगविहीन

रासस

१, फाल्गुण २०७९
तीन करोड लगानीमा खुलेको कम्पोष्ट प्लान्ट उपयोगविहीन
images

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ ।

images
images

कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो ।

नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश सरकार, १ नं प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत २१ गते केन्द्रको शुभारम्भ गरेका थिए । केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको चार सय ३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जबकी, कम्पोष्ट प्लान्टबाट प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

अर्थमन्त्रालयको विशेष अनुदान एवं प्रदेश सरकारको रु दुई करोड ७० लाख लागतमा निर्माण गरिएको प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको मूल्य प्रतिबोरा रु पाँच सय निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र बिक्री भएको जनाइएको छ ।

स्थापनाकालमा उत्पादित एक सय ५० बोरा प्राङ्गारिक मल नगरपालिकाको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियान अनुसार उत्पादन गरिएका अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको जनाइएको छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठको भन्दा कैयौँ गुणा मलिलो भए पनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङुगाबहादुर विश्वकर्माले बताए । “कम्पोष्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेको छु । गोठको गोबरभन्दा कैयौँ गुणा राम्रो छ”, उनले भने, “तर, यसको महत्वबारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गाह्रो हुने अवस्था आउँथ्यो ।”

उद्घाटन अघि र केही समयपछिसम्म सामान्य मात्रामा प्राङ्गारिक मल उत्पादन हुँदै आएको प्लान्टमा करिब दुई वर्षदेखि उत्पादन ठप्प छ । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा बायोग्यास प्लान्टबाट नियमित प्राङ्गारिक मल उत्पादन नभएको स्थानीय बासिन्दाको आरोप छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मललाई किसानले आफ्नो गोठको मलसरह ठानेकाले नियमित उत्पादन गर्न नसकिएको नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले बताए । “उद्घाटनलगत्तै एकलट मल उत्पादन भयो । परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ तर, बजार मूल्य बढी भयो भनेर किसानले रुचाएका छैनन् । नियमित खपत नभएपछि धेरै मल उत्पादन नगरिएको हो”, उनले भने, “अब निजी संस्था वा साँझेदारी संस्थामार्फत सञ्चालन गर्ने गरी कार्यविधि तयार पारेका छौँ । मूल्यका विषयमा पनि पुनः विचार हुन्छ ।”

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - ०९:१२:२१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology