Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एकैपटक बचत फिर्ता दिनुपर्ने दबाबले तुलसी सहकारी सङ्कटमा, डुबेको हल्लाले बचत फिर्ता माग्नेको भीड बढ्दै !

एकैपटक बचत फिर्ता दिनुपर्ने दबाबले तुलसी सहकारी सङ्कटमा, डुबेको हल्लाले बचत फिर्ता माग्नेको भीड बढ्दै !

बचतकर्ताको तारो बनेपछि कर्मचारीहरू असुरक्षित, सबै शाखा तथा डिपार्टमेन्ट स्टोरहरू केही दिनका लागि बन्द

इच्छाकामना न्युज

४, फाल्गुण २०७९
एकैपटक बचत फिर्ता दिनुपर्ने दबाबले तुलसी सहकारी सङ्कटमा, डुबेको हल्लाले बचत फिर्ता माग्नेको भीड बढ्दै !

विराटनगर । विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अत्यधिक बचतकर्ताले आफ्नो बचत रकम फिर्ता माग गरेपछि सङ्कटमा परेको छ । बचतकर्ताको पैसा फिर्ता नदिएको हल्लाले हजारौँ मानिसहरू कार्यालयमा दिनहुँ आउँदा सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू पनि बन्द भएका छन् । 

images

तुलसी सहकारी विराटनगरको ठुलो सहकारी हो । यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । विराटनगरका ५ हजार जनाबाट मात्रै झन्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकम मात्रै डेढ अर्ब बराबर रहेको बताइन्छ । सहकारीले ४८ करोड ऋण लगानी गरेको छ । शेयर पूँजी मात्रै १० करोड रहेको छ ।

बाहिर हल्ला चलेजस्तो सहकारी डुबेको छैन । एक कर्मचारीले नाम नबताउने सर्तमा दिएको जानकारी अनुसार सहकारीको नाममा विराटनगर १९ मिलनचोकमा १६ कठ्ठा जग्गा छ । झापाको गौरादहमा तुलसी राइस मिलको नाममा डेढ बिगाहा जग्गा छ । त्यहाँ राइस मिलको ठुलो प्लान्ट छ । गाइघाटको खाबुमा ३ सय रोपनी भन्दा बढी जग्गा छ । दमक, गाईघाट र लेटाङमा डिपार्टमेन्ट स्टोरहरू छन् । 

केही दिनयता बचतकर्ताले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राख्दै सहकारी सञ्चालक र अध्यक्षको घर घेराउ गरिरहेका छन् । जसका कारण सहकारीका चारवटै कार्यालयहरू बन्द रहेको एक कर्मचारीले बताए । यस्तै तीनवटा डिपार्टमेन्ट स्टोर पनि बन्द गरिएको छ । 

बचतकर्ताले बचत गरेको रकम सावाँ र ब्याजसहित दिनुपर्ने माग राखेका छन् । बचतकर्ताको दबाबपछि प्रहरीले सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा निक्षेपकर्ताहरूसँग प्रशासनको छलफल भएको थियो । ‘तीन दिनभित्र सञ्चालक समितिका सबै पदाधिकारी तथा सदस्यहरूले निकास निकाल्ने सहमति भएको छ,’ सहकारीका एक कर्मचारीले भने ।

कर्मचारीहरू असुरक्षित

बचतकर्ता आक्रोशित हुन थालेपछि कर्मचारी असुरक्षित भएर सहकारीको कार्यालय बन्द गरिएको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् । २०५२ सालमा स्थापना भएको सहकारीमा सयौँ कर्मचारी छन् । तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा समेत केहिदिन अगाडी नै तालाबन्दी भएको छ ।

सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रूपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ । 

सहकारीका मेनेजर सिताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए । ‘अहिले तरलताको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचत कर्ताहरूको रकम क्रमशः फिर्ता दिनेछौँ । केही समय लाग्छ । तरलताको अभावको कारणले समस्या आएको हो । यो समस्या सावधान गर्नेतर्फ सहकारीका सञ्चालकहरू लागी परेका छौँ । बिस्तारै सबैको पैसा फिर्ता हुनेछ ।’ 

सहकारीका एक कर्मचारीले टेलिफोन मार्फत भने, ‘बचत कसैको पनि डुबेको होइन । खासमा कस्टमर धेरै आक्रोशित भए । हामी कर्मचारीहरू बाहिर निस्केर हिँड्न सक्ने अवस्था भएन । जसले गर्दा हामी कार्यालयमा उपस्थिति हुन सकिएन ।’ सबै शाखाका कर्मचारीहरू लुकेर हिँड्नु परेको उनले सुनाए । ‘कर्मचारीले आदेश अनुसार काम गरेका छौँ । सचिव ज्यू नियन्त्रणमै हुनुहुन्छ । हामी बाहिर भएका कर्मचारीलाई गाह्रो भयो । पब्लिक फेस गर्न गाह्रो भयो,’ नाम नबताउने सर्तमा उनले भने, ‘बन्द गर्ने, भाग्ने भन्ने नियत कसैको पनि होइन । हुलमा आएर डिपोजिट नहुने व्यक्तिहरू पनि अगाडि अगाडि हल्ला गरेका छन् । यस्तो अवस्थामा हामीले एकै पटक सबै रकम कसरी फिर्ता गर्न सक्नु ? क्रमशः फिर्ता हुन्छ । सहकारी डुबेको छैन ।’

Tulasi Sahakari (1)

कतिपय कर्मचारीले आफ्ना परिवारका सदस्यहरूलाई पनि बचतकर्ताले आक्रमण गर्न खोजेको सुनाए । ‘छोराछोरीलाई पनि सङ्कट आयो । हामी मानसिक रूपमा पनि समस्याग्रस्त छौँ । सहकारी कसरी चलाउने भन्ने डरमा छाै । स्थिति सामान्य भएपनि कसरी काम गर्ने भन्ने समस्या उत्पन्न भएको छ । बचतकर्ताको रकम सहकारीमा डिपोजिट भएको छ । व्यक्तिगत ढङ्गले कसैले पनि जम्मा गरेको छैन,’ उनले भने । 

यद्यपि काउन्टर खोल्नेसम्मको वातावरण सञ्चालक समितिले बताउनु पर्ने उनले बताए । ‘सानो समस्या हुँदा नै सञ्चालक समितिले डिसिजन दिन सक्नुपर्थ्यो,’ ती कर्मचारीले भने, ‘सानो समस्या टार्न खोज्दा ठुलो समस्या आयो ।’

सहकारीका उद्योगै उद्योग

सहकारीले काठमाडौँको गोठाटारमा गोर्खा टि.एण्ड कफी उद्योग प्रा.लि. स्थापना गरेको छ । उक्त उद्योगले नेपालमै उत्पादित चिया तथा कफीलाई प्याकेजिङ गरी बजारमा विक्री गरिरहेको छ । यस उद्योगले नेपाली चिया बजारको ३० प्रतिशत हिस्सा ओगटेको दाबी गरिएको छ ।

यस्तै भक्तपुरको मध्यपुर ठिमीमा शिखर दीप बचत तथा ऋण सहकारी संस्था पनि यही सहकारीसँग सम्बद्ध छ । उक्त सहकारीले उपत्यकाका २० हजार सदस्यसँग कारोबार गर्दै आएको जनाइएको छ । शिव शिखर कृषि सहकारी संस्था पनि तुलसी बहुउद्देश्यीय सहकारीसँगै आबद्ध छ । यो सहकारीले उन्नत जातका बिउ, बिजन, रासायनिक मल, कृषि औजार तथा कृषि उद्योगसँग सम्बन्धित अन्य सामाग्री विक्री गर्दै आएको छ । सहकारीले भारतबाट उच्चस्तरको चामल आयात गरी प्याकेजिङ पश्चात बजारमा विक्री वितरण गर्दै आएको छ । उपकार जिरा मसिनो, उपकार जिरा मसिनो स्टिम रानी महल लंग ग्रेन, वेलकम तथा उपकार बासमती ब्रान्डका चामलहरु यसका उत्पादन हुन् । 

tulshi3

यस्तै गोर्खा वेभरेज प्रालि नामक उद्योग पनि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाकै अर्को उद्योग हो । यस उद्योगबाट मास्टर अक्वा, रि भोरा, गेटअप जस्ता ब्रान्डका शुद्ध पिउने पानीले राजधानीको २० प्रतिशत हिस्सा ओगटेको दाबी छ । यस्तै शिखर फ्रुट एण्ड स्पाइसेज प्रालि पनि यही सहकारीको अर्को उद्योग हो । यस उद्योगको कार्यालय नेपालगन्जमा रहेको छ । उक्त उद्योगले नेपाली माउथफ्रेसनर ‘फ्रुट मजा’ बजारमा ल्याएको छ । यस्तै टोमाटो केचअप, सस तथा अन्य विभिन्न किसिमका मसलाहरूलाई पनि यसले उत्पादन गर्दै आएको छ । 

यस सहकारीले तुलसी बाल उज्ज्वल भविष्य खाता, तुलसी सुपर पेन्सन बचत, आवधिक, निक्षेप, तुलसी फ्युचर स्टार बचत, तुलसी सुपर पेन्सन प्लस, तुलसी अवधि बचत खाता, तुलसी पेन्सन प्लस खातालगायत सञ्चालन गरिरहेको छ ।  रातोपाटी अनलाईनबाट

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - ०९:००:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology