Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लागूऔषध दुर्व्यसनी अपराध होइन ?

लागूऔषध दुर्व्यसनी अपराध होइन ?

रासस

४, फाल्गुण २०७९
लागूऔषध दुर्व्यसनी अपराध होइन ?

चितवन । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा लागूऔषधको प्रयोगकर्ता बढ्दै जाँदा रोगको रूपमा फैलने भन्दै यसलाई रोक्न सबै एक हुन जरुरी रहेको बताएका छन्। लागू औषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्दै उपप्रमुख अधिकारीले लागूऔषध प्रयोगकर्ताले पुनःजीवन पाएपछि समाजमा फर्कंदा हुने भेदभावको अन्त्य गर्न जरुरी रहेको बताएका हुन्। यसका लागि विद्यालयस्तरबाट सचेतना जगाउन जरुरी रहेको उनले बताए।

images

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लागूऔषधसम्बन्धि मुद्दा जटिल भए पनि प्रयोगकर्ता कम हुन नसक्नु समस्याका रूपमा रहेको बताए। प्रयोगकर्तालाई अपराधीका रूपमा नहेरी रोगको रूपमा हेरेर समाजबाटै सुधार गर्न सकिने उनको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले समाजमा हुने गरेका अपराधका क्रियाकलापमा लागूऔषधको हिस्सा रहेको बताए। यसलाई रोगका रूपमा लिएर परिवारबाट समाधान खोज्न सके समाधानको प्रभावकारी उपाय हुने उनले बताए।

सेभ द चिल्र्डेनका प्रतिनिधि ड्यारेनजी शेर्पाले लागूऔषधसम्बन्धि कानुन परिवर्तन हुन नसक्दा समाजमा ठूलो समस्याका रूपमा लागूऔषध प्रयोगकर्ता रहेको बताए। कानुनीरूपमा जाँदा अपराधीका रूपमा हेरिँदा उनीहरूको मनोबल गिर्दै गएको उनले बताए।

द रिकोभरी नेपालका कार्यकारी निर्देशक विष्णु फुयाँल शर्माले नेपालमा अहिले एक लाख ३२ हजार लागूऔषध प्रयोगकर्ता रहेको जानकारी दिए। लागूऔषध प्रयोगकर्तामध्ये ५० प्रतिशत विवाहित रहेको उनले जानकारी दिए। पछिल्लो समय लागूऔषधको प्रयोग गर्नेहरूमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी रहेको उनले बताए। ‘लागूऔषध प्रयोगकर्तामध्ये सुइको प्रयोग गर्ने अधिकांशलाई हेपाटाइटिस बीको सङ्क्रमण देखिएको छ,’ उनले भने।

यसलाई रोक्नका लागि राज्यले पुनःस्थापना केन्द्रलाई क्षमता अभिवृद्धि तालिम, व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उनले बताए। लागूऔषध प्रयोगकर्तालाई सुधार गर्ने खालका कानुन आउन नसक्नु दुःखद् रहेको उनको भनाइ थियो।

भेलामा तीनवर्षे अभियानको समेत सुरु गरिएको छ। ‘स्वास्थ्य रोजौँ, लागूऔषध होइन’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको हो। संस्थाका केन्द्रीय अध्यक्ष दिलीप गुरुङ र प्रदेश अध्यक्ष दिवाकरराज श्रेष्ठले लागूऔषध प्रयोग घटाउन समुदायस्तरबाट एक भएर लाग्न जरुरी रहेको बताए। लागूऔषध प्रयोगकर्ता अपराधी नभएकोले अपराधी करार गर्न नहुने उनीहरुले बताए।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७९ बिहिवार - २२:३९:१८ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology