गोरखा । अजिरकोट गाउँपालिका वडा नं.४ स्थित गोगनपानी युवा क्लबले तेस्रो अजिरकोट भलिबल कप–२०८० को तयारी थालेको छ। यसअघि दुई पटकसम्म प्रतियोगिता आयोजना गरिसकेको क्लबले यसवटक दशैँको अवसर पारेर तेस्रो प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘गोगनपानी युवा क्लबको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुदसँगै पर्यटन विकास गराउने हाम्रो अभियान’ भन्ने मूल नारासहित आउँदो कात्तिक १ गतेदेखि ३ गतेसम्म तेस्रो अजिरकोट भलिबल कप आयोजना गर्न लागेको प्रतियोगिता मूल समारोह समितिका संयोजक मोहन गुरूङले जानकारी दिए।
उनका अनुसार प्रतियोगिता गोगनपानीस्थित क्लबको खेलमैदानमा हुनेछ। प्रतियोगितामा गोरखासहित तनहुँ, लमजुङ, कास्कीलगायतका जिल्लाका उत्कृष्ट १२ समूहले सहभागिता जनाउने छन्। प्रतियोगितामा विजेता समूहले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले भने नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
साथै खेलअवधिभर सर्वोत्कृष्ट खेलाडीले नगद तीन हजारसहित ट्रफी प्राप्त गर्नेछन्। हरेक खेलका ‘म्यान अफ दी म्याच’लाई अजिरकोट गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको वृतचित्र मायाको चिनोस्वरूप प्रदान गरिने छ।
स्थानीयस्तरमा युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउँदै व्यावसायीक खेलाडी तयार गर्ने लक्ष्यसहित गोगनपानी युवा क्लबले विगतका वर्षहरूबाटै खेलकुदका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। गाउँको सानो मैदानबाट राष्ट्रियस्तरका खेल मैदानसम्म पुग्न सक्ने खेलाडी उत्पादनको लागि पनि प्रतियोगिताले मह¤वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
खेलकुदकै माध्यमबाट पनि समग्र अजिरकोट गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिन्छ भन्ने उद्देश्यसहित खेलकुदलाई हरेक वर्ष निरन्तरता दिँदै आएको संयोजक गुरूङले जानकारी दिए। खेल समापनको दिन भने स्थानीय कलाकारहरूमार्फत विशेष सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुने छन्।