आँबुखैरेनी, १६ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित जिल्लाकै सबैभन्दा अग्लो डाडाँमा रहेको धार्मिक पर्यटकिय स्थल छिम्केश्वरीलाई नचम्काई आँबुखैरेनीको विकास हुन असम्भव हुने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताउनुभएको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका २ मार्किचोक तिलवारीमा अवस्थित आधारभुत स्वास्थ्य केन्द्रको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले यस्तो कुरा बताउनुभएको हो।
कार्यक्रममा सम्बोन्धनकै क्रममा मन्त्री चुमानले जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको पर्यटकीय स्थान छिम्केश्वरीको प्रवद्र्धन नगरेसम्म आँबुखैरेनीको समग्र विकास सम्भव नहुने भएकैले सो क्षेत्रको प्रवद्र्धन र विकासका लागि आफु लागिपरिरहेको बताउनुभयो। सोहि उद्देश्य अनुरुप आँबुखैरेनी–छिम्केश्वरी सडक निर्माणको लागि ५० करोडको बजेट मार्फत अहिले बाटो निर्माणको काम भैरहेको र बजेट थपिदै जाने उहाँले बताउनुभयो।
यस्तै, प्रदेश सरकारबाट छिम्केश्वरी माई मन्दिर आसपास बाटो निर्माणको लागि हरेक वर्ष ४० लाख रुपैंया छुट्याईएकोमा सधै पूरा रकम खर्च हुन नसकेर फिर्ता पठाउने गरेको पनि उहाँले जानकारी दिनुभयो।
यसैगरि मन्त्री चुमानले आँबुखैरेनीमा छिट्टै १५ बेडको अस्पताल स्थापना गर्ने बताउनुभएको छ । अस्पताल कुन स्थानमा बनाउने र उपयुक्त सरकारी खाली जग्गाको खोजी भैरहेको उहाँले बताउनुभएको छ । यसको लागि ढकालटारको सेना गणको तल्लो खण्ड खाली जग्गा उपयुक्त हुन सक्ने र सोही स्थानमा अस्पताल बनाउने बिषयमा सरकारसँग पहल भएको मन्त्री चुमानको भनाई रहेको छ ।