गोरखा । गोरखाको गण्डकी गाउँपालिका आफ्नो पालिका भित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । पालिका भित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिका भित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना साकार ले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण गर्भवती घरमै सुत्केरी गराउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको थालनी गरेको अध्यक्ष तिमिल्सिनाले वताए । “घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैमा जोखिम बढी हुन्छ”, उनले भने, “निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि गाउँपालिकाभित्र घरमै सुत्केरी गराउने क्रम पूर्ण रुपमा अन्त्य हुन्छ भन्ने विश्वास छ ।”
गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकमा सहज पहुँच पुग्ने गरी बुधबारदेखि एम्बुलेन्स सेवाको थालनी गरेको उनले बताए । भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र, वडा नं १ स्थित मकैसिंङ प्राथामिक स्वास्थ्य केन्द्र र दर्बुङ स्वास्थ्य चौकी उपलब्ध गराइएका तीनवटा एम्बुलेन्सलाई परिचालन गर्ने गरी एम्बुलेन्स सेवा सुरु भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
उनले भने, बृहत् एम्बुलेन्स सेवाबाट आवश्यकता पर्दा सबै वडामा सेवा दिनसक्ने गरी व्यवस्थापन भएको छ । बृहत् एम्बुलेन्स सेवाबाट न्यून खर्चमा उपचारका लागि अस्पतालसम्म पुग्न गण्डकी गाउँपालिकाका नागरिकलाई सहजहोस भन्ने हाम्रो लक्ष्य रहेको उनको भनाई छ ।