Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण

ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण

images

इच्छाकामना न्युज

२१, माघ २०८०
ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण
images

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो । 

करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ । सोही भवन ट्राफिक प्रहरीलाई उपलव्ध गराउने निर्णय भएको हो । व्यास नगरपालिका–४ का वडा सदस्य सरोज भण्डारीले कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि नगरसभामा आफूले प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य पालिकाले जग्गा र भवन दिन्छौँ भनेर प्रस्ताव गरिरहेका थिए, सदरमुकाममा भएको कार्यालय अन्यत्र लैजानु ठिक हुँदैनथ्यो । करङकाठमा प्रयोगविहीन भवनलाई ट्राफिक प्रहरीको कार्यालय बनाउन सकिन्छ भनेर नगरप्रमुखसमक्ष प्रस्ताव लगेको थिएँ ।”

भवनमा विद्युतीकरण र झ्यालढोका हाल्न बाँकी छ । ती सबै काम नगरपालिकाले नै पूरा गर्ने सहमति भएको छ । सबै काम सकेपछि ट्राफिक प्रहरी कार्यालय सोही भवनबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त भवनको काम बीचमा छाडेर अलपत्र परेको रहेछ । हामीले नगरपालिकालाई अनुरोध गरेपछि नगरपालिकाले भवन हस्तान्तरण गर्ने निर्णय गरेको छ । अहिले भवनको सरसफाइको काम भइरहेको छ । बाँकी सबै काम नगरपालिकाले नै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।”

हाल व्यास नगरपालिका–४ स्थित व्यक्तिको घरमा भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ । हाल सातवटा कोठा भाडामा लिइएको छ । पुरानो घर भएकाले साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपरेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ भवनमा कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाहमा पनि सहजता हुन्छ ।”

ट्राफिक प्रहरी कार्यालय तनहुँमा १५ जनाको दरबन्दी रहेकामा ३७ जना कार्यरत छन् । कार्यालय मातहत जिल्लाभर १२ अस्थायी ट्राफिक प्रहरी पोष्ट छन् । पौडेलका अनुसार बेलचौतारा, आँबुखैरेनी, कोत्रे, भिमाद, थर्पु, कलेस्ती, बन्दीपुर, भन्सार, पुर्कोट, पुलजीप र देवघाटमा अस्थायी पोष्टबाट सेवा प्रवाह भइरहेको छ । कार्यालयले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतनालगायतका काम गर्दै आएको छ । 

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - ०८:३४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology