तुलमान गुरुङ, भरतपुर । २०७२ सालमा आएको विनाशकारी भूकम्पले उजाडिएको गुछिवाङ गाउँ झाडीमा परिणत भएको छ । इच्छाकामना गाउँपालिका वडा नं–२ मा पर्ने गुछिवाङका स्थानीय सुरक्षित आवास खोज्दै कालिका नगरपालिकाको जुटपानी झरेपछि पुरानो बस्ती झाडीमा परिणत भएको हो । त्यतिबेलाको गुछिवाङ अहिले सडक सञ्जालले जोडिएको छ । तर, त्यतिबेलाको गाउँमा अहिले एउटा पनि घर छैनन् ।
भूकम्पले जमिनमा धाँजा फाटेपछि विश्वकर्मा समुदायको बसोवास रहेको गुछिवाङका सबै लाखापाखा लागे । त्यसमध्ये २४ घरपरिवार जुटपानी आएर बसेका छन् । उनीहरु अहिले जुटपानीमै परम्परागत आरन, आधुनिक आरन (ग्रील उद्योग) चलाएर बसेका छन् । गुछिवाङ गाउँमा २०७२ सालमा भन्दा धेरै विकास भइसकेको छ । तर, जुटपानी झरेका स्थानीय अब पुरानो गाउँ फर्किने सोचमा छैनन् ।
‘आफ्नो नाममा जग्गाजमिन नभए पनि गरिखानलाई जुटपानीमा सजिलो छ । गुछिवाङमा दुःख अहिले पनि उस्तै हो’, जुटपानीबाट खुर्पा बिक्री गर्न काउले पुगेका शिव विकले भने, ‘अब राज्यले अहिले बसिरहेकै ठाउँलाई आधिकारिकता दिए राम्रो हुन्थ्यो ।’ उनका अनुसार गुछिवाङको डाँडोमा रहेको करिब २२ बिघा नम्बरी जग्गा छोडेर जुटपानीको ऐलानी जग्गामा बसिरहेका छन् ।
‘२२ बिघा जमिनमा करिब सात कठ्ठा जमिन सडकलाई छोडेका थियौँ’, उनी भन्छन्, ‘बाँकी जमिन अहिले बाँझो छ । पूरै झाडी बनेको छ ।’ उनका अनुसार खानेपानीको समस्या थियो । तर, ठाउँ पहारिलो भएको हुँदा बस्न राम्रै थियो । अहिले आफ्नो नाममा भएको जमिन छाडेर करिब प्रतिपरिवार पाँच धुरको जमिनमा साँघुरो ठाउँमा बसिरहेका छन् ।
‘खनीखोस्री गरेर खानलाई गाउँमा सजिलो थियो । तर, हरेक चीजको सुविधा जुटपानीमा छ’, उनी भन्छन्, ‘त्यसैले बस्नबाहेक अरु कामकुरा सहज भएकोले गाउँ फर्किने सोच कसैको पनि छैन ।’ तर, पुरानो गाउँआसपासका छिमेकीले घाँसदाउरा, मेलापात गर्न आवश्यक हातहतियार मागिरहने हुँदा उनीहरु जुटपानीबाट हँसिया, खुर्पा, करौँती, कुटो, कोदालोलगायतका सामग्री बोकेर बेला–बेला पुग्ने गरेका छन् ।
अहिले उनीहरु बस्दै आएको जुटपानीमा २४ घरे भनेर नामकरण गरिएको छ । स्थानीय मेखबहादुर विश्वकर्माका अनुसार ठाउँ साँघुरो भए पनि एउटै घरमा आठ जनासम्मको परिवार बसिरहेका छन् । ‘स्थानीय सरकारले यो बस्तीको समस्या बुझिदिए हुन्थ्यो’, उनी भन्छन्, ‘हामीलाई अन्त लैजान नि पर्थेन । जहाँ जसरी बसिरहेको छ त्यही ठाउँमा व्यवस्थित तरिकाले बस्ने वातावरणमात्रै मिलाइदिए पनि हुन्थ्यो ।’
इच्छाकामना–२, वल्र्याङका शेरबहादुर प्रजाका अनुसार गुछिवाङका विश्वकर्माहरु निकै पौरखी थिए । उनीहरुले उत्पादन गरेका अन्न वरिपरिका चेपाङ समुदायलाई बेच्थे । ‘वरिपरिका चेपाङहरुको घरमा खानेकुरा सकियो भने गुछिवाङ जान्थे’, उनी भन्छन्, ‘तर के गर्नु, हिजो बस्ती छँदा बाटो थिएन । अहिले बस्ती नहुँदा बाटोको सुविधा छ ।’ मान्छे बस्न छाडेपछि सिङ्गै पाखो नै जङ्गल बनेको उनले बताए । चितवनपोष्टबाट