गोरखा । मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट नौ वटा मोटरसाइकल बरामद गरिएको एसपी बासुदेव पाठकले जानकारी दिए ।
एसपी पाठकका अनुसार मोटरसाइकल चोरीको आरोपमा आरुघाट गाउँपालिका–३ निबोटका सुकबहादुर गुरुङ, सुजन कार्की पक्राउ परेका हुन् । त्यस्तै सोही गाउँपालिका वडा नम्वर ६ कल्लेरीका रामकुमार श्रेष्ठ, वडा नम्वर ४ थुमी बराम गाउँका रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्लाको गढीमाई नगरपालिका घर भई हाल आरुघाट गाउँपालिका ३ आर्खेतमा बिआर ब्रदर्श वर्कशपमा काम गर्दै आएका शंकर शाह सोनार पक्राउ परेका प्रहरीले जनाएको छ । एसपी पाठकका अनुसार पाँचजनालाई यही फागुन २७ गते पक्राउ गरिएको थियो ।
त्यस्तै पक्राउ परेकाहरुसँगको अनुसन्धानबाट चोरीमा संलग्न थप ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरुघाट गाउँपालिका वडा नम्वर ३ निबोटका सन्तोष गुरुङ, सोमे भन्ने उत्तम गुरुङ, देउवा गुरुङ, वडा नम्वर २ का अन्जन घले, वडा नम्वर ३ का टेकबहादुर आले र कमल आले मगरलाई फागुन ३० गते पक्राउ गरिएको एसपी पाठकले जानकारी दिए ।
उनीहरुको साथबाट चोरीका सातवटा मोटरसाइकल बरामद भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
‘सबै बाइक कालो रातो रंगको २२० सिसिको पल्सर छन्,’ उनले भने, ‘पाँच वटा धादिङबाट र चार वटा गोरखाबाट चोरेको खुलेको छ ।’ डिएसपी श्रेष्ठका अनुसार चोरी भएका बाइकमध्ये चारवटा उनीहरुले बिक्री गरिसकेका छन् । चार वटा उनीहरु आफैले प्रयोग गर्दै आएका थिए भने एउटा वेवारिसे अवस्थामा फालिएको अबस्थामा भेटिएको हो ।
पक्राउ परेकाहरुमध्ये ६ जना चोरीमा संलग्न रहेको, ४ जना चोरीको मोटरसाइकल खरिद गरेको र एक जना चोरीको मोटरसाइकलको पार्टपुर्जाहरु फेर बदल गर्ने कार्यमा संलग्न रहेको बताइएको छ । उनीहरु बिरुद्ध चोरी कसूर शीर्षकमा मद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । २२० सिसिको पल्सर बाइकलाई टार्गेट गरी उनीहरुले चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
चोरी भएका बाइकहरु १५ देखि ३० हजार रुपैयाँसम्ममा बेच्ने गरेको खुलेको छ । चोरीका बाइकहरु उत्तरी गोरखाका दुर्गम भेगमा पठाओका रुपमा चल्ने गरेको पाइएको डिएसपी श्रेष्ठले बताए । ‘घटनाको थप अनुसन्धान गरिरहेका छौँ, चोरीमा संलग्न अन्य व्यक्तिहरु पनि पक्राउ पर्न सक्ने सम्भावना छ,’ उनले भने ।
चोरीमा संलग्न गिरोहलाई समात्न यसरी सफल भयो प्रहरी (डिएसपी रमेशकुमार श्रेष्ठको कुराकानीमा आधारित)
गत फागुन १६ गते बारपाक सुलिकोट गाउँपालिका–७ देउरालीका लक्ष्मण गुरुङको प्र ३–०२–००१ प. ४६०१ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भयो । खोजी गरिदिन भन्दै उनले प्रहरीमा निवेदन दिए । यसअघि पनि सदरमुकामसहित जिल्लाका बिभिन्न ठाउँबाट मोटरसाइकल हराएको भन्दै प्रहरीमा उजुरी पर्दै आएका छन् । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष मोटरसाइकल चारीका मात्रै १६ वटा उजुरी परिसकेका छन् । चोरीका घटना बढ्न थालेपछि गोरखा प्रहरीले रणनीतिक योजना बनाएर बिशेष अप्रेशन शुरु ग¥यो । सादा पोशाकमा प्रहरी परिचालन, सवारी चेकजाँचमा कडाई साथै बाइक लुकाउन सक्ने सम्भावित ठाउँमा अनुगमन बढायो ।
खोजतालसकै क्रममा आरुघाट गाउँपालिका–३ स्याम्राङ स्थित कोही नबस्ने रित्तो घरमा पार्किङ गरेर राखिएको अवस्थामा लक्ष्मण गुरुङको हराएको मोटरसाइकल भेटियो । सोधपुछको क्रममा उक्त मोटरसाइकल सोही स्थानका सुकबहादुर गुरुङले राखेको भन्ने खुल्न आयो । सुकबहादुरलाई पक्राउ गरेपछि चोरीमा संलग्न अन्य गिरोह र चोरीका बाइकहरु समात्न प्रहरी सफल भएको हो ।
माघको पहिलो साताबाट उनीहरुले श्रृखंलावद्ध रुपमा मोटरसाइकल चोरी गर्न थालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ‘माघको पहिलो साता आज पक्राउ परेकामध्येका सात जना बाइकमा काठमाण्डौ घुम्न गएछन्, राती मलेखु पुगेर एउटा पल्सर बाइक चोरेछन् । काठमाण्डौमा केही दिन घुमेर फर्कने क्रममा फेरी मलेखु आसपासबाटै अर्काे २२० सिसिको पल्सर बाइक चोरेछन्,’ डिएसपी श्रेष्ठले भने । दुई वटा बाइक चोर्न सफल भएपछि उनीहरु गोरखा छिरेर यहाँका बाइकहरु चोर्न थालेको उनले जानकारी दिए ।
बरामद गरिएका बाइकहरु जिल्ला अदालतमा दसीको रुपमा बुझाइने र सम्बन्धित धनीलाई बुझाउन आवश्यक समन्वय र सहजिकरण गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चोरीका घटना न्यूनिकरणका लागी सवारी धनी पनि सचेत हुन कार्यालयले आग्रह गरेको छ ।