Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार

images

इच्छाकामना न्युज

४, चैत्र २०८०
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार
images

बागलुङ। एक दशक अघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन ।

भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ ।

धार्मिक महत्त्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआजा गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो ।

पाँच वर्षयता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ ।

धान्य पूर्णिमामा यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब दुई हजार धार्मिक पर्यटक यहाँ आउने गर्छन् । धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षमा रु १० लाख र बरेङ गाउँपालिकाले रु १३ लाख बजेट विनियोजन गरेका छन् ।

विनियोजित बजेटबाट पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गर्न थालिएको छ । दक्षिण बागलुङको मुख्य धार्मिक स्थल भएको हुँदा यहाँ हालसम्म पालिकाले रु एक करोड बढी लगानी गरिसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए।

पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्तजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उनको भनाइ छ । देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माले बताए । 

“यस मन्दिर यस क्षेत्रकै ऐतिहासिक धरोहर हो, पहिले सामान्य मन्दिर थियो, यद्यपि भक्तजनको उपस्थिति भने निकै बाक्लो हुन्थ्यो, पछि हामीहरू निर्वाचित भएर आएपछि अघिल्लो कार्यकालदेखि निरन्तर लगानी गर्दै आएका छौँ, भक्तजनलाई लक्ष्य गरी बस्ने भवन, खानेपानी, शौचालयको व्यवस्थापन गर्नुका साथै मन्दिरलाई केही व्यवस्थित गर्‍यौँ”, अध्यक्ष शर्माले भने । 

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट चालु आर्थिक वर्षमा मन्दिरबाट मैदानसम्मको करिब एक सय १२ मिटर पक्की पदमार्ग निर्माण गरेको निर्माण समितिका अध्यक्ष होमबहादुर श्रीसले बताए ।

उद्योग तथा पर्यटन कार्यालय बागलुङसँग सम्झौता गरेर मङ्सिर अन्तिम साता नै पदमार्ग निर्माण गरिसकेको उनको भनाइ छ । भौतिक संरचना थपिएपछि सत्यवती मन्दिरको मुहार नै फेरिएको श्रीस बताउँछन् । मन्दिर व्यवस्थित भएपछि भक्तजन आगमनमा वृद्धि भएको उनको भनाइ छ ।

विषेशगरी गैँडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बुटवल, म्याग्दी, काठमाडौँ, धनकुटा, नेपालगन्ज र बागलुङका विभिन्न स्थानलगायतका ठाउँबाट तीर्थयात्री आउने गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - ०९:११:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology