चितवन । तमू प्ये ल्हु संघ चितवनले गुरूङ समुदायको साँस्कृतिक नृत्य ‘सेर्गा नाच’को तालिम दिने तयारी गरेको छ। बसाइसराइसँगै मौलिक साँस्कृतिक एवम् सामूहिक नृत्य हराउन थालेपछि संरक्षणको लागि नयाँ समूह निर्माण गरेर तालिममार्फत सिकाउने तयारी गरिएको संघले जनाएको छ।
अध्यक्ष विक्रम च्हम्रु तमूका अनुसार बुधबार बसेको कार्यसमितिको बैठकले दक्ष व्यक्तिबाटै तालिम सञ्चालन गर्ने निर्णय गरिएको हो। गुरूङ समुदायमा मृत्यु संस्कारमा यो नृत्य देखाइन्छ। परापूर्वकालदेखि चलिआएको संस्कृति भए पनि नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सेर्गा हराउने अवस्थामा आइपुगेको उनले बताए। यो नाच गुरूङ जातिमा मृत्युपछि गरिने संस्कार अर्घौमा नचाइन्छ।
‘चितवनमा अधिकांश गुरूङहरू बाहिरी जिल्लाबाट बसाइसरी आएपछि नयाँ ठाउँमा संस्कृति संरक्षण गर्न चुनौती हुने नै भयो,’ उनले भने, ‘त्यसमाथि थयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा गुरूङ जातिमा अति आवश्यक संस्कृति पनि लोप हुने अवस्थामा आइपुग्यो।’
समूहमा गाउने, बजाउने र नाच्ने हुँदा सेर्गाको लागि ठूलो समूह आवश्यक पर्छ। त्यसकारण संस्थागतरूपमै तमू प्ये ल्हु संघमार्फत तालिम दिने तयारी गरिएको उनको भनाइ छ। सेर्गामात्र नभई गुरूङ जातिको धर्मगुरूहरूलाई भेला गराई संस्कारलाई थप परिस्कृत गर्दै लैजाने योजना रहेको अध्यक्ष गुरूङले जानकारी दिए।
‘खेगी गुरूहरूको भेलामार्फत धर्म संस्कार संरक्षणलाई अझ दीगो बनाउने प्रयास गरेका हौँ,’ उनले भने, ‘किनकि हाम्रो संस्कारलाई भावी पुस्तासम्म पुर्याउनु छ।’ अहिलेको पुस्ताले पनि यस विषयमा चासो नदेखाए नयाँ पुस्ताले आफ्नै संस्कृति थाह नपाउने उनको भनाइ छ।
प्ये ल्हु संघले यसबाहेक पनि तमू भाषा र नेतृत्व विकास तथा उद्घोषणकला सम्बन्धी तालिम दिने उनले बताए। बुधबारको बैठकबाट भएका निर्णयलाई क्रमैसँग पूरा गर्दै लैजाने अध्यक्ष गुरूङले बताए। गुरूङ समुदायमा भाषा संरक्षण पनि अपरिहार्य विषय हो।
भाषामा समेत पुस्तान्तरण हुन नसक्दा नयाँ पुस्ता भाषाबाट टाढिनु परेको उनले बताए। ‘त्यसकारण हामीलाई भाषा संरक्षणमा पनि काम गर्नुपर्ने छ,’ उनले भने। प्ये ल्हु संघका सदस्यहरूलाई समूहमा बोल्न सक्ने बनाउनको लागि भने उद्घोषण तालिम आवश्यक परेको उनको भनाइ छ।