भरतपुर । गुरूङ समुदायको साझा संस्था तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले ‘तमू भाषा’को प्रशिक्षण दिने तयारी गरेको छ। चितवन जिल्लामा बसोवास गर्दै आएका तमू समुदायमा मातृभाषा लोप हुँदै गएपछि संरक्षण गर्नका लागि भाषाको कक्षा नै सञ्चालन गर्ने तयारी गरिएको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन्।
‘गत वर्ष पनि १५ दिनको भाषा कक्षा सञ्चालन गरेका थियौँ’, उनले भनिन्, ‘त्यसैलाई निरन्तरता दिनका लागि यसवर्ष पनि कक्षा सञ्चालनको तयारी गरिरहेका छौँ।’ ह्युल छोंज धीँको वर्तमान कार्यसमितिले वार्षिक कार्ययोजनामै समावेश गरेर भाषा कक्षालाई निरन्तरता दिने प्रयास गरिएको उनले बताइन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार चितवन जिल्लामा गुरूङ समुदायको कुल जनसङ्ख्या ४९ हजार ८२७ छ। यो सङ्ख्या जिल्लाको आदिवासी जनजाति समुदायमा तेस्रो ठूलो हो। तर, कुल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन छैन, तैपनि धेरैजसोमा भाषाको ज्ञान हराउँदै गएको हुँदा भावी पुस्तासम्म पुर्याउनका लागि पनि तालिम आवश्यक परेको ह्युल छोंज धीँले जनाएको छ।
‘४० जनजातिको बसोवास रहेको चितवनमा तमू जातिको उपस्थिति तेस्रो नम्बरमा छ। तर, भाषामा हामी धेरै पछि परिसकेका छौँ। त्यसकारण पनि भाषा कक्षा चलाउन बाध्य भएका छौँ’, तमू भाषा कक्षा सञ्चालन कार्यक्रमका संयोजक एवं ह्युल छोंज धीँ चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले भने।
उनका अनुसार गत वर्ष भरतपुरमा मात्रै भाषा कक्षा सञ्चालन गरेको ह्युल छोंज धीँ चितवनले यसवर्ष भरतपुरसहित रत्ननगर र इच्छाकामनामा पनि भाषा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘कम्तीमा तालिम लिन चाहनेहरुलाई थप सहज होस् भन्ने उद्देश्यका साथ यसवर्ष आधारभूत ज्ञानसहितको पुस्तक नै तयार गरिरहेका छौँ’, उनले भने, ‘पुस्तकका लागि छापाको काम भइरहेको छ, दुई/चार दिनमा छापिइसक्ने लक्ष्य छ।’ पुस्तक छापिएपछि तत्काल कक्षा सञ्चालन गरिने उनले बताए।
कार्यक्रमका सहसंयोजक एवं प्रकाशन समिति सदस्य किशोर गुरूङले पुस्तक प्रकाशन अन्तिम चरणमा पुगेको जानकारी दिए। कम्तीमा आधारभूत तहको पुस्तक नै भए पनि चितवन जिल्लाबाटै प्रकाशन गर्दा यसले आगामी दिनमा पनि टेवा पुग्ने हुुँदा यसवर्ष पुस्तककै माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए। ‘तमू ह्युल छोंज धीँले गर्नैपर्ने एउटा मह¤वपूर्ण काम हामीले गर्न खोजिरहेका छौँ’, उनले भने, ‘हाम्रो पुस्ताले थोरै मिहिनेत गरे नयाँ पुस्तालाई सहज हुने हुँदा यसपटक हामीले थोरै मिहिनेत गरेका छौँ।’
गुरूङ भाषाको आफ्नै लिपि छ। तर, करिब करिब लोप भइसकेको छ। त्यसकारण भाषा सिकाउँदा नेपाली अक्षरकै माध्यमबाट सिकाइने उनले बताए। ‘खेमा लिपिका लागि भाषा जानेकै व्यक्तिले पनि सिक्नुपर्ने देखिन्छ’, ह्युल छोंज धीँ चितवनका सचिवसमेत रहेका कार्यक्रमका सहसंयोजक गुरूङले भने, ‘खेमा लिपि सिकाउने पनि ह्युल छोंज धीँको योजनाभित्र छ, तर सहज छैन।’
भूगोलका हिसाबले चितवन जिल्लाका रैथाने गुरूङहरु भाषामा कमजोर छन्। बाहिरी जिल्लाबाट आएर बसेकाहरुले पनि बिर्संदै गएपछि भाषा नै हराउने जोखिम बढ्दै गएको उनले बताए। ‘हाम्रो मातृभाषालाई हामीले नै संरक्षण गर्न सकेनौँ भने भावी पुस्ताले हामीलाई सम्झिने बाटो रहँदैन’, उनले भने, ‘त्यसकारण छोरानातिले हामीलाई सम्झिइराख्ने बनाउनका लागि पनि नमुना काम त गर्नैपर्छ।’
यसपटक पनि १५ दिनको कक्षा सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। यही भदौको अन्तिम सातादेखि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। गत वर्ष महाबौद्ध गुम्बा तीनखोलेमा भएको प्रशिक्षणमा करिब ३५ जना प्रशिक्षार्थी सहभागी भएका थिए । यसवर्ष महाबौद्ध गुम्बा परिसरमै प्रशिक्षार्थीको सङ्ख्या बढी हुने अनुमान गरिएको छ।
त्यसबाहेक पनि रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि कक्षा सञ्चालन गरिने भएपछि भाषा सिक्नेको सङ्ख्या धेरै नै हुने आयोजकले जनाएको छ।