Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नाबालिका २ छोरीको हत्या गर्ने अस्मिता पौडेल कारागार चलान

नाबालिका २ छोरीको हत्या गर्ने अस्मिता पौडेल कारागार चलान

इच्छाकामना न्युज

१७, आश्विन २०८१
नाबालिका २ छोरीको हत्या गर्ने अस्मिता पौडेल कारागार चलान
images

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गर्ने २१ वर्षीया अस्मिता पौडेल (कार्की) कारागार चलान भएकी छन् ।

images
images

जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले अस्मितलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मंगलबार आदेश दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अस्मितालाई थुनामा पठाउन आदेश भएको हो ।

इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि अस्मितालाई कारागार चलान गरिएको बुढाथोकीले बताए । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेपछि फरार भएकी अस्मितलाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडिबाट पक्राउ गरेको थियो ।

शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढायो । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै अस्मिताविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । कानुन व्यवसायीबीचको थुनछेक बहसपछि अदालतले उनलाई कारागार चलानको आदेश गरेको हो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीय अर्जुन कार्कीसँग विवाद भएपछि छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता भदौ १४ गते साँझ हिँडेकी थिइन् । दुवै नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए ।

नानीहरुको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टा फेला परेको थियो । अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि नानीहरुलाई लिएर हिँडेको केहीबेरमा आफूले विष खाएको र उनीहरुलाई पनि खुवाएको अस्मिताले बताएकी थिइन् ।

मोरङ प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्, ‘पतिले दिएको तनाव सहन नसकेपछि दुवै छोरीलाई लिएर हिँडे । विष पनि लगेकी थिएँ । छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन । सुरुमा मैले खाएँ । छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएँ । उनीहरु मरे । तर, म चैं मरिन ।’

सुरुमा अस्मितालाई मानसिक समस्या रहेको हुनसक्ने अनुमान गरिएको थियो । तर, अनुसन्धानबाट त्यस्तो समस्या नरहेको खुल्यो । स्वास्थ्य परीक्षण गराउँदा उनले विष सेवन गरेको वा नगरेको भनेर यकिन हुन सकेन ।

‘कसैले विष सेवन गर्दा त्यसको असर ७२ घण्टा (३ दिन)भित्रमा देखिँदो रहेछ । तर, अस्मिता फेला पर्दा ५ दिन बितिसकेको थियो,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, ‘अस्पताल लगेर परीक्षण गराउँदा विष सेवन गरेको वा नगरेको भनेर छुट्टिएन । शरीरमा विषको असर पनि देखिएन ।’

पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरुको हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको एसपी कार्कीले बताए । प्रहरीका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन र संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताले २०७५ साल फागुन ९ गते भागेर बिहे गरेका थिए ।

पत्नी र २ नाबालिका छोरीसहित अर्जुन गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । नयाँ घरमा पानी लगाउने विषयमा पति–पत्नीबीच विवाद भएको र त्यसपछि अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - २३:२४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology