Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

इच्छाकामना न्युज

२२, आश्विन २०८१
बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
images

काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो ।

images
images

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ महाँकालमा प्रशोधन हुन्छ ।

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् ।

हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ डाँछीका स्थानीय राममाया नगरकोटीले खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो गरे । उनले खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको बताए ।

धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार गरे ।

वि.सं. २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाइ वाग्मतीमा बगाउने चेतावनी दिएका थिए ।

तर, अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले बेवास्ता गरेको स्थानीय घनेन्द्र लामाको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले ६ महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापनपत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा भएको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नम्बर ५ भन्दा माथिका वडालाई मात्र समेटेकामा स्थानीयवासीको गुनासो छ ।

जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा पनि स्थानीयवासीले समस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् । मेलम्ची खानेपाली राजधानी ल्याउन अवरोध गरेका हेलम्बुवासीसँग सोमबार सम्झौता भएपछि आजदेखि नै पानी राजधानी पथान्तरण हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

मेलम्चीको पानी राजधानी आएपछि खानेपानी नपाए आन्दोलनमा उत्रनुको विकल्प नहुने स्थानीय बासिन्दाले बताएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - ०७:३१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology