डुम्रे। तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १, (बेलभन्ज्याङ नजिकै) भैंसीगोठमा रहेको खड्गदेवी मन्दिर पुनर्निर्माणको लागि सहयोग मार्फत आवश्यक रकम सङ्कलन गरिएको छ ।
गत जेठ १७ गतेको हावाहुरीले नजिकैको रुख ढाल्दा मन्दिरमा पुर्ण रुपमा क्षती भएको थियो ।
मन्दिर निर्माणका लागि करिब ३० लाख बजेट आवश्यक पर्ने भएपछि बन्दिपुर गाउँपालिकाबाट रु ४ लाख रकम बिनियोजन भएको र थप सहयोग गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा गरेका छन्।
उक्त बजेटबाट मात्रै मन्दिर पुननिर्माणको काम सम्पन्न हुन बजेट अभाव भएको हुँदा तिहारको अवसरमा देउसी भैलो एबम सहयोग संकलन कार्य जारी राखिएको मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टिकाराम गिरीले बताए।
हालसम्म करिब १८ लाख रुपैया उक्त कार्यक्रमबाट संकलन गरिएको र अझै सहयोग जुटाउने अभियानमा लागेको मन्दिर निर्माण समितिले जनाएको छ। निर्माणका लागि सहयोग गर्न सम्पूर्ण सहयोगी मनहरुमा समितिले आह्वान गरेको छ।
रु ३ हजार भन्दा माथी रु १० हजार सम्म सहयोग गर्ने व्याक्तिको शिला लेखमा नाम राखिने, रु १० हजार देखि रु ५० हजार सम्म सहयोग गर्नेको ३ पुस्ताको नामावली र रु ५० हजार भन्दा माथी सहयोग गर्नेको पारिबारकै छुट्टै शिलालेख राखिने मन्दिर निर्माण समितिले जनाएको छ।
यस मन्दिरमा विजय दशमीको अष्टमीको दिन र चैते दशैंको अष्टमीको दिनमा विशेष मेला लाग्ने गर्दछ। भक्तजनहरूबाट आफ्नो भाकलको रुपमा नरिवल चढाउने र बोका कुखुराको बलि दिने र जोडी परेवा उडाउने प्रचलन रही आएको छ । यसरी पूजाआजा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ। यस्तै यहाँ औँसी र एकादशी दिनबाहेक अन्य दिनमा विधिपूर्वक नित्य पूजाआजा गर्ने गरिन्छ ।
२०३२ सालमा स्वर्गीय सन्तबहादुर थापाको नेतृत्वमा मन्दिर बनाई पूजाआजा गर्न थालिएको हो।
धार्मिक पर्यटन बिकासका लागि कोशेढुङ्गा आशा गरिएको यो मन्दिरका संस्थापक स्व. सन्त बहादुर थापाको छोरा सुर्य बहादुर थापा र नाति बिकास थापा बाट बुबाआमाको सम्झना मा करिव 3 रोपनी जग्गा उपलब्ध गराएका छन्।