माडी । रामनवमी पर्वको अवसरमा माडी–९ स्थित अयोध्याधाममा त्रिदिवसीय धार्मिक तथा सांस्कृतिक कार्यक्रम र अयोध्याधामस्थित राममन्दिर परिसरमा हालै निर्माण सम्पन्न भएको धर्मशालाको उद्घाटन गरिएको छ ।
रामनवमी पर्वको अवसर पारी अयोध्याधाममा आयोजित त्रिदिवसीय रामकथा वाचन तथा भजनकीर्तनका सन्दर्भमा कार्यक्रमकी प्रमुखअतिथि माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रामकथा र धर्मशालाको उद्घाटन गरिन् ।
अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा चैत २४ गतेसम्म अयोध्याधाम परिसरमा सो तीनदिने धार्मिक कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले बताए । कार्यक्रममा चर्चित युवा पण्डित सुदर्शन सुवेदीले रामकथा वाचन गरिरहेका छन् ।
हरेक वर्ष रामनवमी पर्वको अवसर पारी अयोध्याधाममा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदै आएकोमा सामूहिक व्रतबन्ध, तुलादान, दैनिक पूजापाठ, प्रवचन, हवन तथा प्रसाद वितरणजस्ता गतिविधिहरु पनि सञ्चालन भएका छन् ।
धर्मशाला भवनलाई नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति नेपाल ऋषि डा. जगमान गुरूङले गत श्रीपञ्चमी पर्वको दिन शिलान्यास गरी निर्माण प्रारम्भ भएको थियो । शौचालय र स्नान घरसहित ५ वटा कोठा रहेको सो भवन निर्माणमा करिब ३८ लाख रूपैयाँ निर्माण लागत रहेको छ ।
धर्मशालाको निर्माण कार्यका लागि अयोध्याधाममा सञ्चालित ९ दिने धनधान्याचल महायज्ञबाट १८ लाख रूपैयाँ नगद सङ्कलन भएको थियो भने घरजग्गा व्यवसायी राज केसी नेतृत्वको ट्वान्टीवान प्रोपर्टी डिलर्स प्रालिले २० लाख रूपैयाँबराबरको निर्माण सामग्री सहयोग गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।