बन्दिपुर, जेष्ठ २० । अमेरिकी प्रविधि कम्पनी एप्पल को बहुप्रतिक्षित फिल्म ‘टासी’ को छायांकन नेपालमा सम्पन्न भएको छ। फिल्मको अन्तिम छायांकन बन्दीपुरमा गरिएको हो, जुन तीन दिन सम्म चल्यो।
यसअघि फिल्मको छायांकन मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलुखुम्बु लगायतका पर्यटकीय तथा हिमाली भेगहरूमा गरिएको थियो। करिब एक महिनासम्म चलेको नेपाल छायांकनमा मात्र निर्माण पक्षले करिब १५ करोड रुपैयाँ खर्च गरेको बताइएको छ। फिल्मको नेपाल पक्ष व्यवस्थापन बलिउड निर्माता प्रवेश साहनी को कम्पनी आइटप फिल्म्स ले गरेको हो।
छायांकनका लागि ३०० भन्दा बढी भारतीय प्राविधिक नेपाल आएका थिए भने नेपाली कलाकार तथा प्राविधिकको समेत सहभागिता रहेको निर्माण टिमले जनाएको छ। स्थानीय पर्यटन प्रवर्द्धनसँगै रोजगारीमा पनि योगदान पुर्याएको यस परियोजनाले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता विश्वसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
फिल्ममा टम हिडल्स्टन ले सर एडमण्ड हिलारी, र विलियम डफोई ले कर्णेल जोन हन्ट को भूमिका निर्वाह गर्दै छन्। फिल्मको कथा सगरमाथाको पहिलो सफल आरोहण, विशेषगरी तेन्जिङ नोर्गे शेर्पा को जीवनमा आधारित छ।
सन् १९५३ मा शेर्पा र हिलारीले सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए। फिल्मको निर्माण ‘द किस स्पिच’ जस्ता ओस्कार विजेता फिल्म निर्माण गर्ने कम्पनी सी-स फिल्म्स ले गरिरहेको छ।