दमौली, २३ जेठ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी ६५ वर्षीय क्या. तारा लाल मल्लको शव तीन दिनपछि मादी नदीमा फेला परेको छ।
मल्ल बुधबार बिहान मर्निङ वाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि उनी शान्तिनगर र पाटन जोड्ने मादी नदीको झोलुङ्गे पुलबाट बेपत्ता भएका थिए। खोजी कार्य जारी रहँदा शुक्रबार बिहान साराङघाट नजिकै उनको शव डुबेको अवस्थामा फेला परेको हो।
बेपत्ता मल्लको मोबाइल, चस्मा, टोपीलगायतका सामग्री झोलुङ्गे पुलमै फेला परेपछि उनी पुलबाट हाम फालेको आशंका गरिएको थियो। स्थानीय बासिन्दाका अनुसार घटनाको बिहान करिब साढे ४ बजे पुल हल्लिएको र ठूलो आवाज आएको सुनिएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र दमौलीका स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी कार्य जारी राखेका थिए। छङ्गेली नेवा खलको टोलीसहित गोताखोरको सहयोगमा खोजी तीव्र बनाइएको थियो।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका मल्लको निधनले स्थानिय समाजमा शोक छाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।