पालुङ्टार, २८ जेष्ठ । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ स्थित च्याङ्ली आहालेबर क्षेत्रमा लिची चोरीका घटना बढ्दै गएका छन्। स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा प्रशस्त लिची बगैँचा रहेका छन् र पछिल्लो समय रातको समयमा लिची चोरी हुने क्रम तीव्र रुपमा बढेको छ।
आज बिहानै एक बोरा लिची लुकाइराखेको अवस्थामा फेला परेको र घटनाबारे प्रहरीलाई जानकारी दिइएपछि अनुसन्धान अघि बढाइएको लिची बगैँचाकी मालिक सरस्वती ढकालले बताउनुभयो। चोरी गरिएको लिची फेला परेको भए पनि संलग्न व्यक्तिहरू भने फरार छन्।
स्थानीयहरूले आशंका गरिएका केही व्यक्तिहरूमाथि निगरानी राखिएको र अनुसन्धान जारी रहेको अस्थायी प्रहरी पोस्ट बिरुवाटारले जानकारी दिएको छ। यसअघि पनि केही व्यक्तिहरूलाई चोरीको आरोपमा रंगेहात पक्राउ गरी कारबाही गरिएको तर हाल अनुसन्धानको क्रममा नाम सार्वजनिक नगरिएको प्रहरीले स्पष्ट पारेको छ।
लिची उत्पादनका लागि परिचित पालुङ्टार नगरपालिकाको वडा नम्बर ६, ७ र ८ लाई लिची पकेट क्षेत्रको रुपमा चिनिन्छ। यस क्षेत्रमा लिची चोरीका घटनाले किसानहरू चिन्तित बनेका छन् र सुरक्षा व्यवस्था कडा पार्न स्थानीयले आग्रह गरेका छन्।