Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गृहको पत्र कुर्दाकुर्दै तिब्बतसँग बैठक हुन सकेन

गृहको पत्र कुर्दाकुर्दै तिब्बतसँग बैठक हुन सकेन

images

इच्छाकामना न्युज

१६, आषाढ २०८२
गृहको पत्र कुर्दाकुर्दै  तिब्बतसँग बैठक हुन सकेन
images

गोरखा । हरेक साल नाका खुलाउने विषयमा तिब्बततर्फ हुँदै आएको द्विदेशीय प्रतिनिधिहरूको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी थियो । तर, गृह मन्त्रालयबाट समयमै आदेश नआउँदा निर्धारित मिति गुज्रियो । त्यसैकारण, नाका कहिले खुल्ने भन्ने टुंगो लागेको छैन ।

तिब्बती अधिकारीले चुमनुब्री–१ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका खुलाउने र त्यसपछि आइपर्ने सुरक्षा चुनौतीबारे छलफल गर्न दुवैतर्फ बैठकको प्रस्ताव गरेका थिए ।
जिलोङ काउन्टी पब्लिक सेक्युरिटी ब्युरोअफ चाइनाले चुमनुब्री गाउँपालिका ७ छेकम्पार प्रहरी चौकी, इलाका प्रहरी कार्यालय आरुघाटमा गत जेठ २६ गते नै बैठकबारे नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । यही असार १५ गते बैठक गर्ने प्रस्ताव गरी जेठ २९ गते पत्र पठाएर विधिवत् रूपमा प्रस्ताव गरेको थियो ।
प्रहरीले सो पत्रसमेत संलग्न राखी जिल्ला प्रशासन कार्यालय गोरखामा पठायो । प्रशासन कार्यालयले पनि सोही दिन बैठकका लागि आदेश माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो । ‘यो बीचमा चुमनुब्री—७ का पूर्ववडाध्यक्ष पासाङ फुन्जो लामाले तीन पटकसम्म फोन गरी आदेश आउन किन ढिला भएको भनेर चासो राख्नुभएको थियो’, एक अधिकारीले भने, ‘जिल्लाबाट पनि गृह मन्त्रालयमा सोधनी भइरहेको थियो । तर, असार १२ गते मात्रै आदेश आयो । सो पत्र तत्काल तिब्बती अधिकारीसमक्ष पुर्‍याउँदा उताबाट आदेश आउन अर्को १० दिन लाग्ने खबर आएको छ । बैठक कहिले हुने अनिश्चित भयो ।’

रुइला नाका रहेको सामागाउँतर्फ सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)ले बैठकको समन्वय गरिरहेको थियो । तिब्बती सुरक्षा निकायले सशस्त्र प्रहरीलाई असार ७ गते पत्राचार गरेको थियो । तर, त्यसको जवाफ गृह मन्त्रालयले असार १२ गते मात्र आदेशात्मक जवाफ फर्कायो । यसले गर्दा बैठक हुन सकेन । ‘हाम्रो भूमिमा द्विपक्षीय बैठक अहिलेसम्म भएको थिएन । यसपटक हुने भनेर हामी धेरै खुसी भएका थियौं’, चुमनुब्री–१ का मिङमार लामाले भने, ‘तर जवाफ आउनै ढिला भयो । त्यसैले मिटिङ हुन सकेन । अब कहिले मिटिङ गर्ने, कहिले नाका खुल्ने हो ? ’

छेकम्पारमा भने १० वर्षअघि द्विपक्षीय बैठक भएको थियो । ‘१० वर्षपछि पहिलो पटक यता बैठक गर्न लागेको, तर जवाफ पर्खिंदा पर्खिंदै उनीहरूले तोकेको असार १५ गते बैठक हुन सकेन । अब कहिले हुन्छ थाहा छैन’, उनले भने ।

images
प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - ०८:५६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology