तनहुँ, १८ असार । जिल्लाको व्यास नगरपालिका कार्यालय मातहत रहेको व्यास नगर अस्पतालमा औषधी खरिद प्रक्रियामा भएको गम्भीर लापरवाही यतिबेला छताछुल्ल हुन पुगेको छ ।
स्वास्थ्य शाखाबाट विल पेश गरी भुक्तानी लिन लागिएकोमा शंका लागि रुजु गर्दा खरीद आदेश अनुसारको औषधी नभेटिएपछि लेखा अधिकृत अर्जुन बरालले भुक्तानी रोकेका हुन् ।
लेखा अधिकृत बरालले भुक्तानी रोकिदिएपछि यस बिषयले चर्चा पाउनुका साथै सार्वजनिक रुपमा पर्दाफास हुन पुगेको छ । केही महिना अघि मात्रै कास्की पोखराबाट सरुवा भएर व्यासमा आउनु भएका बराललाई पहिलो गाँसमै ढुंगा लाग्नबाट जोगिएको छ ।
स्वास्थ्य शाखाका वरिष्ठ नर्सिड कल्पना कोइराला दाहाल र जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुडले कोटेशन ल्याएर प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेलाई दाखिलामा सही गराई भुक्तानीका लागि लेखा शाखामा जाँदा लेखा शाखाले भुक्तानी रोकेको हो ।
पुरै औषधी नआउँदै भुक्तानीका लागि दाखिला गरी भुक्तानी प्रक्रिया अघि बढाएको पाइएको व्यास नगरपालिकाका प्रशासन प्रमुख रामचन्द्र हड्खलेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “भुक्तानी दिने क्रममा औषधी रुजु गर्दा केही औषधी आउँनै बाँकी रहेको भेटिएपछि लेखाबाट भुक्तानी रोकिएको हो ।”
व्यास नगरपालिकाका प्रशासन प्रमुख रामचन्द्र हड्खलेको संयोजकत्वमा चार सदस्यीय औषधी गन्ने समिति गठन गरेको थियो । व्यास नगर अस्पतालका अध्यक्ष तुलसीराम सापकोटा,स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती,डा.नविना न्यौपाने रहेको समितिले औषधी गनेर प्रतिवेदन पेश गरेको थियो ।
लेखा शाखाबाट भुक्तानी दिने समयमा औषधी आएको छ कि छैन भनेर बुझ्दा आधा औषधी खरीद बिल अनुरुप नदेखिएपछि भुक्तानी रोकिएको हो,प्रशासन प्रमुख हड्खलेले भन्नुभयो,“औषधी आएको छ कि छैन गनेर प्रतिवेदन पेश गर्न नगरपालिकाले उक्त समिति गठन गरेको हो ।”
समिति बनाएर गन्न जाने समयसम्म सबै औषधी आइसकेको उहाँले जानकारी दिनुभयो । रु.दश लाखको औषधी खरीद गरिएकोमध्ये केही औषधी आइपुगेको रहेनछ,उहाँले भन्नुभयो,“सुरुमा खरीद आदेश भयो,आदेशको आधारमा औषधी खरीद गर्ने हो,सामान आइसकेपछि भुक्तानीका लागि दाखिला गर्नुपर्छ तर सामान आउनु अगावै भुक्तानी लिने प्रक्रिया अघि बढाइएको रहेछ ।”
व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले कर्मचारीबाट थोरै त्रुटी भएको स्वीकार गर्नुभयो । कार्यालयका दुई जना जिम्मेवार अधिकृतले सिफारिस गरी भुक्तानीको लागि ल्याएको दाखिलामा आफुले पनि भुक्तानीको लागि हस्ताक्षर गरी प्रक्रिया अघि बढाइदिएको उहाँले बताउनुभयो ।
रु.दश लाखको औषधी खरीदका साथै दाखिला भएर भुक्तानीको लागि आदेश भएर प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
कर्मचारीको विश्वासमा पर्दा जागीर नै धरापमा पार्ने सम्मको कार्य भएको लेखा अधिकृत बरालले बताउनुभयो । भुक्तानीका लागि प्रक्रियागत नै थियो,उहाँले भन्नुभयो,“उक्त शीर्षकमा बजेट नभएर फाइल होल्डमा राखिएको अवस्था थियो,बजेट भएको भए भुक्तानी भइसक्ने थियो ।”
उहाँले भन्नुभयो “ठूलो रकमको बिलमा शंका लागेर बुझ्दा केही गोप्य सुचना पाइयो,हेर्दा त्रुटी भएको भेटियो,अहिले भुक्तानी रोकिएको अवस्था छ ।”
भुक्तानी गर्न तयार गरिएको दाखिला प्रमुख प्रशासकीय अधिकृत गैरेको निर्देशनमा तत्कालै हटाउन लगाइएको छ भने भुक्तानी कार्य रोकिएको छ ।
सबै कागजात प्रक्रियामा थियो,कर्मचारीको गलत नियत त थिएन् होला,लेखा अधिकृत बरालले भन्नुभयो,“दुई वटा आदेश भएर भुक्तानीको लागि आएको थियो,धन्न गल्ती हुनबाट जोगाउन सकियो ।”