दमौली, तनहुँ – आषाढ शुक्ल पूर्णिमाका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा गुरु पूर्णिमा तथा व्यास जयन्ती विविध कार्यक्रमका बीच भव्य रूपमा मनाइएको छ।
व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको आयोजनामा २८औं श्रीकृष्ण द्वैपायन व्यास अवतरण दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको शुभारम्भ दमौलीस्थित अनशन चौतारीबाट भजन यात्रासँगै गरिएको थियो। उक्त यात्रा व्यास नगरपालिकाको प्राङ्गणमा पुगेर व्यास ऋषिको शालिकमा पूजा तथा पुष्पाञ्जली अर्पण गरी सम्पन्न भयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला न्यायाधीश कमलराज विष्ठ, पूर्वमन्त्री डोबाटे बिक, व्यास नगर उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, व्यासका अध्येता काशिनाथ न्यौपाने, शान्ति स्वरूपानन्द दामोदर बाबा, श्रीराम कार्की, विश्व वास्तोला लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको अध्यक्षता व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले गरेका थिए। सहभागी वक्ताहरूले गुरु पूर्णिमा र व्यास जयन्तीको महत्वबारे आ-आफ्नो धारणा राख्दै वैदिक परम्पराको संरक्षणमा जोड दिएका थिए।
गुरु पूर्णिमा पर्व वैदिक परम्पराअनुसार गुरुजनप्रति श्रद्धाभाव प्रकट गर्ने दिन मानिन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने भएकाले, अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश दिने व्यक्तिलाई गुरु भनिन्छ भन्ने मान्यता रहेको छ।
यस अवसरमा वेदव्यासद्वारा रचित १८ पुराण र १८ उपपुराणको स्मरण गरियो। वेदव्यासले वेदलाई चार भागमा (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद) विभाजन गरी संस्कृत भाषामा ग्रन्थहरूको रचना गरेका थिए। महाभारतको रचनाकार समेत व्यासलाई नै मानिन्छ, जसलाई 'पञ्चम वेद' भनिन्छ।
दमौलीमा सम्पन्न यस वर्षको गुरु पूर्णिमा तथा व्यास जयन्तीले वैदिक परम्परा, गुरु–शिष्य सम्बन्धको सुदृढीकरण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकको भनाइ छ।