गोरखा । गोरखा घर भई काठमाडौंमा बसोबास गर्दै आएका अधिवक्ता शंकरप्रसाद अर्याल विगत ६ महिनादेखि सम्पर्कविहीन भएका छन्। गोरखा नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं बालाजुमा बसोबास गर्दै आएका ६७ वर्षीय अर्याल विगत पुस महिनादेखि हराइरहेका हुन्।
परिवारका अनुसार अर्याल बिहान मर्निङवाकका लागि निस्किएका थिए तर त्यसपछि फर्केनन्। “बिहान आठ बजे मर्निङवाकमा निस्कनु भएको थियो, तर त्यस दिनदेखि अहिलेसम्म फर्कनु भएन,” उनकी पत्नी सुभद्रा अर्यालले बताइन्। उनका अनुसार मोबाइल फोन पनि घरमै छोडिएको अवस्थामा फेला परेको थियो।
“फर्कनुहोला भनेर पर्खिरहँदा आधा वर्ष बितिसक्यो, तर कुनै खबर छैन,” उनले दुखेसो पोखिन्। सामाजिक सञ्जाल, साथीभाइ र आफन्तमार्फत खोजी गरिएको भए पनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन। काठमाडौं, ललितपुर, भक्तपुरसहित गोरखा, तनहुँ, लम्जुङ, चितवन, नवलपरासी जिल्लाका प्रहरी कार्यालयहरूमा समेत जानकारी गराइएको उनले बताइन्। परिवारले जो कसैले देखेमा वा जानकारी पाएमा खबर गरिदिन अनुरोध गरेको छ।
त्यसैगरी, सिरानचोक गाउँपालिका–८, जौबारी निवासी ४२ वर्षीय प्रशान्त सिलवाल पनि काठमाडौंबाट एकाएक सम्पर्कविहीन भएका छन्। हाल काठमाडौंमा व्यवसाय गर्दै आएका सिलवाल गत साता घरबाट निस्किएपछि सम्पर्कमा छैनन्।
उनका भाइ विनय सिलवालका अनुसार प्रशान्तको मोबाइल फोन बन्द छ र उनी कहाँ गए भन्ने कुनै जानकारी छैन। “प्रहरी कार्यालयहरूमा खबर गरेका छौं, सामाजिक सञ्जालमा पनि सूचना राखेका छौं, तर अहिलेसम्म केही पत्ता लागेको छैन,” उनले जानकारी दिए।