Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

images

इच्छाकामना न्युज

९, श्रावण २०८२
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
images

पोखरा ।  पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।

विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुई पटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए  । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा जति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताए । 

पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । एक सय पाँच वटा कल्भर्टमध्ये एक सय तीन वटा निर्माण भइसकेका छन् ।  तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रे खोलामा पुल निर्माण सकिएको हो । 

सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताए ।

आगामी भदौमा तीन वर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । वि.सं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इन्जिनियर कुँवरले बताए ।

केबल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा सिग्नेचर पुल बन्ने भएका हुन् ।  

भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको लाइफलाइनका रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - २२:४१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology